एमालेको अबरोधकाबीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधकाबीच प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
यसअघि बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।
त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाउनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्