“गर्न नसकिने र नगरेका काम लेख्ने अनि गरेको काम नलेख्ने पो रहेछ” : ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रममा याँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ भनेर लेखिएको भए हुन्थ्यो भन्दै व्यंग्य गर्नुभएको छ ।
बिहिबार नीति तथा कार्यक्रममाथि बोल्दै सांसद ढकालले विगतको कपी पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरिएको भन्दै बरु सरकारले गर्नसक्ने र गरिरहेको प्रतिशोध साँध्ने, दलीयकरण गर्ने काम लेखेको भए हुन्थ्यो भन्दै सरकारको आलोचना गर्नुभएको हो ।
ढकालले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरीलगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ, राष्ट्रलाई व्यापक दलीयकरण गर्ने लगायतका गर्न नहुने तर गरेका काम नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने टिप्पणी गर्नुभयो ।
ढकालले भन्नुभएको छ, “यहाँ गजब हुँदोरहेछ, गर्न नसकिने र नगरेका काम लेख्ने अनि गरेको काम नलेख्ने पो रहेछ। यहाँ लेखेको भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरीलगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो।”
त्यसै गरी उहाँले भन्नुभयो, “राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेको भए हुन्थ्यो। अझ, राष्ट्र बैंक त काँग्रेसको भागमा भनेर खुल्लमखुल्ला बहस गरिन्छ। धितोपत्रको अध्यक्ष एमालेले लियो रे, त्यो पनि लेखेको भए हुन्थ्यो।”
आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका ढकालले अगाडि भन्नुभयो, “दलियकरणलाई निरन्तरता दिइन्छ भनेर लेखेको भए हुन्थ्यो नि त। अझै, दलीयीकरणलाई भुईँसम्म पुर्याइन्छ भनेर लेखेको भए हुन्थ्यो। सदनको सिर्जनालाई मारिनेछ, आरोप र प्रत्यारोपको बहस गराइनेछ, यतिसम्म कि ‘रक्सी मैले चोरेको होइन’ भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो। निराश बनाइएको छ सदनलाई।”




प्रतिक्रिया राख्नुहोस्