संयुक्त अरब इमिरेट्सको सारजाह क्रिकेट रंगशालामा सम्पन्न नेपाल र वेस्ट इण्डिजबीचको त्रिदिवसीय अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा सन्दीप लामिछानेलाई अनुशासनको कारवाही स्वरुप निलम्वन गरिएको जानकारी दिइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)सचिव पारस खड्काले एक विज्ञप्ति जारी गरी प्रतियोगिताको पहिलो खेल सुरु हुनु ४५ मिनेट अघि सन्दीपले नखेल्ने निर्णय गरेपछि अनुशासनको कारवाही स्वरुप बाँकी खेलमा निलम्वन गरिएको जनाउनुभएको हो ।
वेस्ट इन्डिजविरूद्धको युनिटी कप जितिसकेको नेपालबाट सन्दीपले नखेलेको विषयमा अनेक चर्चा हुन थालेपछि क्यानले यसबारे स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबीच सेप्टम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी २० सिरिज प्रतियोगिताको पहिलो खेल सुरू हुनुभन्दा ४५ मिनेटअघि सन्दीप लामिछाने स्वयंले उक्त म्याच नखेल्ने निर्णय गरे ।”
“उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी तथा समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा बाँकी दुई खेल तथा नेपाल र वेस्ट इन्डिजबीचको टी २० सिरिज प्रतियोगिता अवधिभरका लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।”
सचिव खड्काले प्रतियोगिता सकिएर नेपाली टोली युएईबाट टी २० विश्वकप छनोट खेल्न ओमान प्रस्थान गरिसकेको र सो टोलीमा सन्दीप सहभागी रहेको जानकारी दिनुभएको छ ।
नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम छन्।
ओमानमा सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
प्रतिक्रिया राख्नुहोस्