नेपालगञ्ज विमानस्थलमा निःशुल्क बस सेवा (भिडियोसहित)
नेपालगञ्ज विमानस्थलमा यही वैशाख १५ गतेदेखि यात्रुहरूका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । यात्रुहरूको सेवा, सुविधा र सहज आवागमनलाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सुरु गरिएको हो ।
विमानस्थलबाट राँझा चोकसम्म करिब २ किलोमिटर दूरीमा यात्रुहरूलाई सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले ट्रली बस सेवा सञ्चालन गरिएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
विशेष गरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको बताइएको छ ।
नेपालगञ्ज विमानस्थल प्रमुख सन्तोष कुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विमानस्थलमा आउने तथा यहाँबाट बाहिरिने यात्रुहरूले छोटो दूरीमा पनि सहज र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरिएको हो । यसले यात्रुहरूको समय बचत गर्नुका साथै उनीहरूलाई थप सहजता प्रदान गर्नेछ ।”
उहाँले थप भन्नुभयो, “२५ जना यात्रु सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो । आगामी दिनमा यात्रुहरूको आवश्यकताअनुसार यस्ता सेवा अझ विस्तार गर्दै लैजाने योजना पनि रहेको छ ।”
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधारका कामहरू अगाडि बढाइँदै छन् । निःशुल्क बस सेवा पनि सोही योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको हो ।
स्थानीयवासी तथा यात्रुहरूले यस सेवाबाट विशेष राहत महसुस हुने बताएका छन् । विशेष गरी गर्मीको समयमा छोटो दूरी हिँड्नुपर्ने बाध्यता हट्नुका साथै सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकिने भएकाले यात्रुहरू खुसी देखिएका छन् ।
(रुपनी जि एम/रासस)





प्रतिक्रिया राख्नुहोस्