जन सरोकार

इन्द्रावतीको अवैध दोहनले माझी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका माझी समयदोको पुख्र्यौली पेसा संकटमा परेको छ । कतिपय माझी परिवार गाउँ छाडेर गइसकेका छन् ।

पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि माझीहरुको पेसा सङ्कटमा परेको हो ।

इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी, पदमबहादुर माझीले सानै उमेरदेखि माछा मार्दै आउनुभएको हो । त्यति बेला जता जाल हान्यो उतै माछा पर्ने गरेको अझै बिर्सनुभएको छैन । तर हिजोआज दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नभेटिने उहाँहरुको अनुभव छ ।

इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहनुभएका नवराज माझीले माछा पाइन छाडे पनि नदी धाउन छाड्नुभएको छैन । तर विस्तारै नदी धाउने काम उपलब्धीमूलक हुन छाडेको छ ।

दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् । क्रसरले दैनिक गिट्टी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ । पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बाँच्थ्यो ।

अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ । वातावरण विभागले विगतमा गरेको एक अध्ययनले पनि मध्यम तथा साना खोलामा माछाको प्रजनन दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ ।

माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ छाडेर गइसकेका छन् । चौबीसै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै इन्द्रावतीको पानीझैँ धमिलो बनाइरहेको छ । पहिले उनीहरूले बनाएका डुङ्गा, खोगा, ढडिया अहिले थन्किएको स्थानीय साइली माझी बताउनुहुन्छ ।

यसले उनीहरुको जीविका मात्र होइन परम्परागत पेसा, नदी संस्कृति र माझी समुदायको पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । सङ्घीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलनलाई बिर्सिएको माझी समुदायको गुनासो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.