सडक सुरक्षाबारे गम्भीर प्रश्न उठाउँदै रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रवक्ता मनिष झाले आज शोक विज्ञप्तिमार्फत धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । साथै उहाँले यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्राप्त विवरणअनुसार लु१ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको हो । करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनाले अपूरणीय क्षति पु¥याएको छ ।
“विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धार टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको हामी उच्च सम्मान गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले यस दुःखद् घटनाले फेरि एकपटक सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता दुर्घटनाहरू तथ्याङ्क मात्रै होइनन् यी नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्नेमा सचेत रहेको जनाएको छ ।
रास्वपाले आगामी दिनमा यस्ता दुःखद् घटनाको पुनरावृत्ति हुन नदिन सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्