सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्दै र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नेगरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिइएको छ ।
संविधान निगरानी समूह र नेपाल कानुन समाजद्वारा आइतबार आयोजित संविधान संशोधनका विषयहरू विषयक संवाद कार्यक्रमका वक्ताले सुशासन र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याकै कारण गत भदौमा विद्रोह भएकाले त्यसलाई सम्बोधन गर्नेगरी संशोधनका विषय अघि बढाइनुपर्ने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले देशमा सुशासन कायम हुनेगरी संविधान संशोधनको गृहकार्य भइरहेको बताउनुभयो । देशलाई फेरि प्रयोगको माध्यम नबनाउने गरी संविधान संशोधनका लागि सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले संविधान संशोधनको कार्यदल बनाएर सरकारले के गर्न खोजेको हो भन्ने प्रष्ट नभएपछि पार्टीले प्रतिनिधि नपठाएको बताउनुभयो । संविधान पुनर्लेखन गर्न खोजेको हो वा संशोधन यो प्रष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री वालेन्द्र शाहले गठन गर्नुभएको संविधान संशोधन कार्यदलको सदस्यसमेत रहनुभएका सांसद मोहनलाल आचार्यले संविधान संशोधनको विधेयक उठान हुनुअघि कार्यदलले छलफल गरेर विधेयक मस्यौदा गर्नेगरी तयारी भइरहेको बताउनुभयो ।
पूर्वकानुनमन्त्रीसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अग्नि खरेलले सुविचारित तरिकाले संविधान संशोधनलाई अघि बढाउनुपर्ने बताउनुभयो । संविधान राजनीतिक दस्तावेज भएकाले सङ्ख्याका आधारमा मात्र यसलाई नहेर्न उहाँले अनुरोध गर्नुभयो ।
पूर्वसांसद राधेश्याम अधिकारीले नेपालमा रहेको विविधताको प्रतिनिधित्व गराउन संसदीय शासन प्रणाली नै उपयुक्त हुने बताउनुभयो । पुराना नेताले पद छाड्न नचाहेको इतिहास भएकाले संविधान संशोधनकै बेला बाँकी विषयलाई प्रष्ट पार्नुपर्ने उहाँको भनाइ छ ।
पूर्वसांसद खिमलाल देवकोटाले बदलिएको शक्ति सन्तुलनले भूराजनीतिलाई थेग्न सक्छ कि सक्दैन भन्ने प्रष्ट भएर अघि बढ्नुपर्ने बताउनुभयो । सम्झौताको दस्तावेजका रूपमा आएको संविधान अझ सुदृढ गराउन नियमित जानकारी गराउनेगरी छलफल हुनुपर्ने बताउनुभयो ।
सांसद लक्ष्मणलाल कर्णले उत्कृष्ट संविधानलाई अझै उत्कृष्ट बनाउन जनस्तरसम्म छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयनको लाभ जनताले पाएको भए गत भदौ २३ र २४ गतेको विद्रोह नहुने बताउनुभयो । केही कमजोरी सुधार गरेपछि संविधान राम्रो हुने उहाँको भनाइ थियो ।





प्रतिक्रिया राख्नुहोस्