जन सरोकार

एकसय ४८ किलो गाँजासहित भारतीय एम्बुलेन्स र त्यसमा सवार दुईजना पक्राउ

प्रहरीको निगरानी कम हुने, साइरन बजाउँदै द्रुतगतिमा कुदाउन पाइने एम्बुलेन्स बिरामीलाई समयमै अस्पताल पुर्याएर जीवन बचाउने सवारी साधन हो । तर, आजभोलि एम्बुलेन्स बिरामी बोक्नुको साटो गाँजा तस्करीको साधन बनिरहेको छ ।

यसरी गाँजा तस्करीमा नेपालका मात्र होइन भारतका एम्बुलेन्सको पनि प्रयोग भैरहेको हालै खुलेको छ । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स र यसमा सवार दुईजनालाई नियन्त्रणमा लिएको छ ।

समाचारअनुसार बराहक्षेत्र नगरपालिका २ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन् ।

एम्बुलेन्सको प्रयोग गरेर भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.