विश्व समाचार

मध्यपूर्वमा तनाव घट्ने संकेतपछि विश्व अर्थतन्त्रमा राहतको अपेक्षा

अमेरिका र इरानबीच सम्भावित शान्ति सहमति तथा मध्यपूर्व क्षेत्रमा तनाव कम हुने संकेतसँगै अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार ठूलो गिरावट आएको छ ।

नयाँ कारोबार सुरु भएसँगै कच्चा तेलको मूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेपछि विश्व बजारमा ऊर्जा आपूर्तिसम्बन्धी चिन्ता केही कम भएको विश्लेषण गरिएको छ ।

लगानीकर्ताहरूले युद्ध र आपूर्ति अवरोधको जोखिम घट्दै गएको आकलन गर्दै तेल बिक्री बढाएपछि बजारमा तीव्र गिरावट देखिएको हो । केही साताअघि मात्रै मध्यपूर्व तनावका कारण आकासिएको तेल मूल्य अहिले वार्ताको सम्भावनासँगै ओरालो लाग्न थालेको छ ।

जुलाई महिनाका लागि आपूर्ति हुने पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेल एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ डलरमा झरेको थियो । यो करिब ५.५३ प्रतिशतको गिरावट हो ।

त्यस्तै अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेल पनि ५.५७ डलरले घटेर प्रति ब्यारेल ९७.९७ डलरमा पुगेको छ, जुन करिब ५.३८ प्रतिशतको कमी हो ।

विश्लेषकहरूका अनुसार तेल बजारमा आएको यो गिरावटको मुख्य कारण अमेरिका र इरानबीच पुनः कूटनीतिक संवाद अगाडि बढेको समाचार हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सहमति धेरै हदसम्म टुंगिएको दाबी गर्दै अन्तिम सहमतिका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य मुलुकबीच थप छलफल भइरहेको बताउनुभएको थियो ।

प्रस्तावित योजनामा ६० दिनको युद्धविराम विस्तार गर्ने, रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने, इरानलाई अन्तर्राष्ट्रिय बजारमा पुनः तेल निर्यात गर्न दिने तथा इरानको आणविक कार्यक्रमबारे नयाँ चरणको वार्ता सुरु गर्ने विषय समावेश रहेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानले हर्मुज जलडमरूमध्य खुला राख्ने र समुद्री ढुवानीमा अवरोध नगर्ने प्रतिबद्धता जनाए अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा सहभागी हुन तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जनाएको छ । यसलाई उक्त सामुद्रिक मार्ग आंशिक रूपमा पुनः सञ्चालनमा आएको संकेतका रूपमा हेरिएको छ ।

विश्वको करिब एक तिहाइ समुद्री तेल आपूर्ति यही मार्ग हुँदै हुने भएकाले हर्मुज क्षेत्रमा देखिने कुनै पनि तनावले विश्व बजारलाई प्रत्यक्ष असर गर्ने गर्दछ ।

ऊर्जा विज्ञहरूका अनुसार तत्कालै मूल्य स्थिर हुने अवस्था भने अझै बनेको छैन । युद्धका कारण केही उत्पादन संरचनामा क्षति पुगेको, बीमा लागत बढेको, ढुवानी जोखिम कायम रहेको तथा कतिपय तेल क्षेत्र पूर्ण क्षमतामा फर्किन नसकेकाले बजार अझै संवेदनशील अवस्थामा रहेको उनीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय ऊर्जा बजारका विश्लेषकहरूले आपूर्ति–माग सन्तुलन पूर्ण रूपमा सामान्य हुन अझ समय लाग्ने बताएका छन् । उनीहरूका अनुसार तेल मूल्य केही समय घटे पनि दीर्घकालीन रूपमा बजार उच्च मूल्यकै दबाबमा रहन सक्नेछ । केही विश्लेषणहरूले विश्व तेल बजार पूर्ण रूपमा स्थिर अवस्थामा फर्किन सन् २०२७ सम्म लाग्न सक्ने अनुमान गरेका छन् ।

तेल मूल्यमा आएको पछिल्लो गिरावटले आयातमुखी अर्थतन्त्र भएका देशहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । विशेषगरी पेट्रोलियम पदार्थमा निर्भर दक्षिण एसियाली मुलुकहरूमा मुद्रास्फीति घटाउन र व्यापार घाटा कम गर्न यसले सकारात्मक प्रभाव पार्न सक्ने अर्थविद्हरूको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.