जल/वातावरण

आजको मौसम : हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ ।

आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।

कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.