विद्यार्थी र शिक्षक बराबर: तीन विद्यार्थीका लागि तीनैजना शिक्षक–कर्मचारी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ।
कक्षा ३ सम्म सञ्चालन हुने यस विद्यालयमा हाल जम्मा तीन जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक–कर्मचारीको सङ्ख्या पनि तीन नै छ।
वि.सं. २०४० मा स्थापना भएको विद्यालयमा यस शैक्षिक सत्रमा बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी भर्ना भएका छन्। कक्षा १ र २ भने विद्यार्थी अभावका कारण रिक्त छन्।
विद्यालयमा स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। त्यसैगरी बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सहयोगी सुर्जना रोका कार्यरत हुनुहुन्छ।
यस वर्ष जेसिका खड्का बालकक्षामा भर्ना हुनुभएको छ भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण गरी कक्षा ३ मा अध्ययनरत छन्।
प्रधानाध्यापक राम्जालीका अनुसार गाउँबाट तीव्र बसाइँसराइ र घट्दो जन्मदरका कारण विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएको छ। उहाँले विद्यालयको सेवा क्षेत्रअन्तर्गत पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरधुरी मात्र रहेको जानकारी दिनुभयो।
“वि.सं. २०७२ सम्म विद्यालयमा १५ देखि २० जनासम्म विद्यार्थी हुन्थे,” उहाँले भन्नुभयो, “तर पछिल्ला वर्षहरूमा नयाँ बालबालिकाको जन्मदर घट्दै गएको छ भने धेरै परिवार बसाइँसराइ गरेर अन्यत्र गएका छन्। त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ।”
यसअघि कोप्चेपानीमा रहेको विद्यालय भवन वि.सं. २०७५ मा कालीगण्डकी नदीमा आएको बाढीले बगाएपछि विद्यालयलाई भालेबासमा स्थानान्तरण गरिएको थियो।
हाल विद्यालयमा सुविधासम्पन्न भवन, शौचालय तथा बालमैत्री कक्षाको व्यवस्था भए पनि विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएकाले विद्यालय परिसर सुनसान देखिन्छ। विद्यार्थी सङ्ख्या घट्दै गएपछि गत वर्ष गाउँपालिकाले एक शिक्षकको दरबन्दीसमेत कटौती गरेको थियो।
स्थानीयवासी तुलाराम बुढाका अनुसार बसाइँसराइले गाउँ रित्तिँदै जाँदा विद्यालयमा विद्यार्थी सङ्ख्या पनि क्रमशः घटिरहेको छ। उहाँले भालेबास र कोप्चेपानीबाट नजिकका गाडपार तथा काभ्रे गाउँका विद्यालय पुग्न बालबालिकाले करिब एक घण्टा पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो।
“गाउँमा रहेका थोरै बालबालिकालाई पनि शिक्षाको पहुँचबाट वञ्चित गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “त्यसैले विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नु आवश्यक छ।”
अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका ठाडा, किन्दु, स्वाँत, घराप र चित्रे आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको छ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार भौगोलिक विकटता, छरिएका बस्ती र बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या घट्दै गएपछि कक्षा समायोजन तथा दरबन्दी व्यवस्थापनको नीति अवलम्बन गरिएको छ।
ग्रामीण क्षेत्रमा बढ्दो बसाइँसराइ र घट्दो जन्मदरका कारण विद्यालयहरू अस्तित्व जोगाउने चुनौतीसँग जुधिरहेका छन्। धवलागिरि आधारभूत विद्यालय त्यसको एउटा प्रतिनिधि उदाहरण बनेको छ।




प्रतिक्रिया राख्नुहोस्