क्रिकेटखेल

नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा मलेसियालाई १ सय ६७ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिंगापुरको अन्तराष्ट्रिय क्रिकेट रंगशामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो ।

नेपालका लागि ओपनर कुशलले ५४ बलमा १४ चौका र ६ छक्काको सहयोगमा १ सय २६ रनको शतकीय पारी खेले भने अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको मद्दतमा ६८ रनको अर्धशतकीय पारी खेले । यी दुईले पहिलो विकेटको लागि ५२ बलमा १३४ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन जोड्दा सन्दीप जोराले १५, लोकेश बमले १०, तथा कुशल मल्ल ८ रनमा अविजित रहे । यस्तै करण केसीले ७ रन जोड्दा सोमपाल कामी एक यानमा अविजित रहे । मलेसियाको लागि विरनदीप सिंहले तीन विकेट लिए भने विजय उन्नी र सईद अजिजको भागमा समान दुई-दुई विकेट रह्यो ।

नेपालले दिएको २ सय ७६ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र बनाउन सक्यो । मलेसियाको लागि सईद अजिजले ४५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शर्विन मुनियान्डीले १८ र मुहम्मद हाजिक आइमानले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको लागि शेर मल्लले तीन विकेट लिए भने सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो । जितसंगै नेपाल समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा तीन शतक प्रहार गर्ने कुशल पहिलो नेपाली खेलाडी बने । योसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीलाई पछि टी-२० अन्तर्राष्ट्रियमा धेरै रन हान्ने सूचीको पहिलो नम्बरमा रहेका छन् । कुशलले २ हजार २४० रन हान्दा दीपेन्द्रले २ हजार २११ रन प्रहार गरेका छन् ।

कुशलको टी-२o अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो शतक हो । उनी यो सफलता प्राप्त गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । कुशलले जारी प्रतियोगिता अन्तर्गत नै चीनसँगको खेलमा पनि शतक बनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.