राजनीति

निर्मला पन्तको बलात्कार र हत्याको सत्यतथ्य पत्ता लगाउन पहल जारी छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा सरकार संवेदनशील रहेको र सत्यतथ्य पत्ता लगाउन आवश्यक पहल जारी रहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएको गृह प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताउँदै बजेट केवल अङ्कहरूको सूची नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय सङ्कल्प भएको उल्लेख गर्नुभयो।

नेपाली जनताको पसिनाबाट सङ्कलित राजस्वलाई नागरिक सेवाको गुणस्तर सुधार र राष्ट्रिय सुरक्षा सुदृढीकरणमा केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सुरक्षाकर्मीहरूको मनोबल अभिवृद्धिका लागि थप कार्यक्रम तथा बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो।

गृहमन्त्री गुरुङले नदीजन्य पदार्थको अवैध दोहन रोक्न गृह मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग समन्वयात्मक रूपमा काम गरिरहेको बताउनुभयो। जाजरकोट भूकम्पबाट प्रभावित नागरिकहरूको पुनःस्थापना र समस्या समाधानका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो।

प्रहरी पोशाक खरिद प्रक्रियामा देखिँदै आएको विवाद र गुनासो अन्त्य गर्न नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको उल्लेख गर्दै उहाँले पोशाक खरिदका लागि छुट्याइने रकम प्रत्यक्ष रूपमा प्रहरी कर्मचारीलाई उपलब्ध गराई उनीहरूले आफैँ खरिद गर्ने प्रणाली लागू गर्ने योजना रहेको बताउनुभयो। यसबाट बिचौलियाको हस्तक्षेप रोक्न र पारदर्शिता बढाउन सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको उहाँको भनाइ छ।

मन्त्री गुरुङले लागुऔषध कारोबार तथा दुव्र्यसन, साइबर अपराध र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध प्रभावकारी कदम चालिने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.