भ्रष्टाचारविरुद्ध बालेन सरकारका कदम स्वागतयोग्य (भिडियोसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका सकारात्मक काममा समर्थन र गलत काममा सशक्त खबरदारी गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो।
देश निर्माण र विकासमा सबै राजनीतिक दल तथा जनप्रतिनिधिहरूको योगदान रहेको भन्दै उहाँले कसैको योगदानलाई कम आँक्न नहुने धारणा राख्नुभयो।
उहाँले सरकारले सुकुम्बासीलाई नदी किनारबाट हटाउने कार्य थालेको प्रसंग स्मरण गर्दै कानुनको शासन स्थापित गर्न यस्ता कदम आवश्यक रहेको बताउनुभयो।
करका दर परिवर्तनसम्बन्धी विवादको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
संसदीय व्यवस्थामा एकजना सांसदको पनि उत्तिकै महत्व हुने उल्लेख गर्दै शाहीले संसदमा साना दललाई हेप्ने वा उपेक्षा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो। जनताले दिएको मतको सम्मान गर्दै सबै दलका आवाजलाई समान महत्व दिनुपर्ने उहाँको भनाइ थियो।
शाहीले लोकतन्त्रमा सरकार र प्रतिपक्ष दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जनहितका विषयमा सहकार्य र गलत निर्णयका विरुद्ध खबरदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।



प्रतिक्रिया राख्नुहोस्