राजनीति

महाधिवेशनअघि लामिछानेको उद्घोष : लोकतन्त्रबाट विचलित हुँदैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रान्त्रिक मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

पार्टीको महाधिवेशनअघि शनिबार चितवनमा आयोजित बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो।

पछिल्लो समय रास्वपामाथि स्थापित राजनीतिक दलहरूले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन खोजेको, जनमतलाई उत्तेजित गरेर अस्थिरता निम्त्याउन खोजेको तथा राष्ट्रिय हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न आरोप लगाउँदै आएका छन्। ती आरोपहरूको सन्दर्भमा उहाँले आफ्नो पार्टी लोकतान्त्रिक अभ्यासबाट कहिल्यै विमुख नहुने स्पष्ट गर्नुभयो।

उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गर्ने राजनीतिक शक्तिहरूको जगमा हामी उभिएका छौँ। हामीलाई यसमा गर्व छ। परिवर्तनको यो यात्रामा हामी जिम्मेवार सहभागी हौँ। लोकतन्त्रबाट विमुख हुने प्रश्न नै उठ्दैन।”

रास्वपामाथि बेला–बेलामा राजनीतिक अस्थिरता बढाउन खोजेको, स्थापित संस्थामाथि अविश्वास फैलाएको तथा जनतामा व्यवस्था विरोधी भावना उक्साएको आरोप लाग्दै आएको छ।

केही विपक्षी नेताहरूले पार्टीका गतिविधिलाई ‘अलोकतान्त्रिक प्रवृत्ति’सँग जोड्ने गरेका छन् भने कतिपयले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा पार्टीको धारणा र अभिव्यक्तिलाई लिएर ‘राष्ट्रघाती’सम्मको आरोप लगाएका छन्। सभापति लामिछानेले भने लोकतन्त्र, संविधान र राष्ट्रिय हितप्रति आफ्नो पार्टीको प्रतिबद्धता पुनः दोहोर्याउँदै त्यस्ता आरोपको जवाफ दिनुभएको हो।

आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन नसकिए कुनै पनि राजनीतिक दल दुर्घटनातर्फ जान सक्ने उल्लेख गर्दै उहाँले संगठनभित्र लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “एउटा घरमा हुने दुर्घटना र समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाको मूल्य धेरै ठूलो हुन्छ। त्यसैले हामी सबैले सचेत भएर अगाडि बढ्नुपर्छ।”

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै भूमिकामा रहे पनि जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुन निर्देशन दिँदै अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादबाट टाढा रहन आग्रह गर्नुभयो। लोकतान्त्रिक संस्कार, अनुशासन र पारदर्शितालाई पार्टीको मुख्य आधार बनाउँदै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सभापति लामिछानेले आसन्न महाधिवेशनले पार्टीलाई थप व्यवस्थित, संस्थागत र गतिशील बनाउने विश्वास व्यक्त गर्दै रास्वपाले जनताले दिएको भरोसालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले पार्टीभित्रको आन्तरिक एकता, लोकतान्त्रिक अभ्यास र जिम्मेवार राजनीतिक संस्कारलाई सुदृढ बनाउँदै अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.