अर्थ

मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल–चीन उत्तरी कोरलानाकाबाट रु १३ अर्ब ८९ करोड ५२ लाख मुल्य बराबरको मालवस्तु पैठारी भएको छ ।

यसैगरी रु २० करोड ५५ लाख ७४ हजार मुल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ ।

गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो ।

कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम रु सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी रु दुई अर्ब ४९ करोड २५ लाख राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिनुभयो ।

कोरलानाकाबाट विद्युती सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.