नेपाल र मङ्गोलियाबीच विद्यालय शिक्षा र चेस खेलमा सहकार्यको सम्भावना
नेपाल र मङ्गोलियाबीच विद्यालय शिक्षा र चेस खेलमा सहकार्यको प्रक्रिया अघि बढेको छ । सोमबार नेपाल भ्रमणमा रहनुभएका मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातार र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगबीच भएको शिष्टाचार भेटवार्तामा सो विषयमा छलफल भएको हो ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच विद्यालय शिक्षामा विशेष गरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवद्र्धन तथा आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो ।
उहाँहरुबीच नेपाल र मङ्गोलियाबीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा मन्त्री पोखरेलले नेपाल र मङ्गोलियाबीचको लामो मैत्रिपूर्ण सम्बन्ध, समान भौगोलिकता अवस्थिति र संस्कृतिको विविध आयाबारेमा उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा क्षेत्रमा खासगरी खेलकुदको क्षेत्रमा मङ्गोलियन सरकार र मङ्गोलियन चेस फेडेरेसनसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।
मन्त्री पोखरलेले नेपालले विद्यालय शिक्षामा नै खेलकुदलाई समायोजन गरेर अगाडि बढाउने दिशामा अगाडि बढिरहेको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।
उहाँले खेल क्षेत्रमा सहकार्यका लागि नेपालको चेस फेडेरेसन र मङ्गोलियाको चेस फेडेरेसनबीच सहकार्यका लागि सकारात्मक पहल गर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री जान्दानशातारले मङ्गोलिया र नेपालबीचको कूटनीतिक सम्बन्ध, समान भौगोलिक तथा सांस्कृतिक रहनसहन एवं समानताबारे चर्चा गर्दै भूपरिवेष्टित मुलुक मङ्गोलियामा पनि बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको उल्लेख गर्नुभयो ।
उहाँले चेस एउटा खेल मात्र नभएर शिक्षाको महत्वपूर्ण माध्यम रहेको स्मरण गराउँदै मङ्गोलियाले दक्षिण एसियाका विभिन्न देशका साथै विश्वका अन्य मुलुकहरुसँग पनि मिलेर चेसलाई विद्यालय शिक्षामै समायोजन गर्ने विषयमा लामो समयदेखि कार्य गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले त्यसका लागि नेपालको शिक्षा तथा खेलकुद मन्त्रालयसँग पनि सहकार्यका लागि तयार रहेको बताउनुभयो ।
जान्दानशातारले चेस विद्यार्थीहरुलाई समालोचनात्मक सोच गर्ने, निर्णयण गर्ने, स्वतन्त्र रुपमा निर्णय गर्नेलगायतका सीप विकासका साथै बौद्धिक विकासका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले मङ्गोलियामा विद्यालय शिक्षामा नै चेसलाई एकीकरण र समायोजन गरेर अगाडि बढाइएको प्रसङ्ग उल्लेख गर्दै नेपालको चेस फेडेरेसनसँग पनि चेसलाई नेपालको विद्यालय शिक्षासँग जोड्न मङ्गोलियन सरकारका तर्फबाट मङ्गोलियन चेस फेडेरेसनका तर्फबाट सहयोग र सहकार्य गर्न मङ्गोलिया तयार रहेकामा जोड दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्