नेपालको राजनीतिक संस्कृतिमा एउटा प्रवृत्ति लामो समयदेखि स्थापित हुँदै आएको छ—सानो पुल होस् वा विद्यालयको भवन, खानेपानीको धारा होस् वा सडक कालोपत्रे, उद्घाटन र शिलान्यासका लागि प्रधानमन्त्री, मन्त्री वा शीर्ष नेताहरूको उपस्थिति अनिवार्यजस्तै बनाइन्थ्यो।
कहिलेकाहीँ एउटै आयोजनाको पटक–पटक शिलान्यास र उद्घाटन गरेर राजनीतिक प्रचार गर्ने प्रतिस्पर्धासमेत देखिन्थ्यो। तर मुलुकको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोलाको उद्घाटनले यो परम्पराभन्दा फरक सन्देश दिएको छ।
देशकै ऐतिहासिक पूर्वाधार मानिएको यस सुरुङमार्गको उद्घाटन प्रधानमन्त्री वा कुनै शीर्ष राजनीतिक नेताको हातबाट भएन। प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उद्घाटनमा सहभागी हुने चर्चा भए पनि उहाँ जानुभएन।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत माएदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग -जाइका)का अध्यक्ष तानाका अकिहिकोका साथमा उपस्थित एक मजदुरले रिरबन काटेर सुरुङकोा उद्घाटन गर्नुभयो । यो केवल एउटा औपचारिकता थिएन, यसले राजनीतिक, सामाजिक र नैतिक रूपमा गहिरो सन्देश दिएको छ।
कुनै पनि पूर्वाधार निर्माणको वास्तविक श्रेय भाषण गर्ने नेताभन्दा त्यसमा पसिना बगाउने श्रमिक, प्राविधिक, इन्जिनियर र निर्माणकर्मीलाई जानुपर्छ भन्ने मान्यतालाई यसले सम्मान गरेको देखिन्छ।
वर्षौँसम्म कठिन भूगोलमा काम गरेर सुरुङ निर्माण गर्ने मजदुरलाई उद्घाटनको केन्द्रमा राख्नु श्रमको सम्मान गर्ने संस्कृतितर्फको संकेत हो। विकासका वास्तविक नायकहरूलाई राज्यले सार्वजनिक रूपमा सम्मान गर्न सक्ने सन्देश यसले दिएको छ।
यस घटनाले नेपाली राजनीतिमा गहिरो जरा गाडेको “उद्घाटन र शिलान्यास मोह” माथि प्रश्न उठाएको छ। विकास साझेदारको भूमिकालाई स्वीकार गर्दै आयोजना सम्पन्न गराउने श्रमिकसँगै उद्घाटन गराइनु कूटनीतिक रूपमा पनि सकारात्मक सन्देश हो।
विगतमा नेताहरू आयोजनाको निर्माणभन्दा उद्घाटनमा बढी रुचि राख्ने गरेको आरोप लाग्दै आएको थियो। कतिपय अवस्थामा काम सुरु नहुँदै शिलान्यास गर्ने, चुनावअघि अधुरो आयोजना उद्घाटन गर्ने र जनतासामु प्रचार गर्ने प्रवृत्तिले राजनीतिक संस्कृतिलाई नै प्रभावित बनाएको थियो। तर नागढुङ्गा सुरुङको उद्घाटनले विकासको केन्द्रमा व्यक्ति होइन, काम र श्रम हुनुपर्छ भन्ने सन्देश दिएको छ।
पछिल्लो समय वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि उद्घाटन, शिलान्यास, समापन समारोहजस्ता औपचारिक कार्यक्रममा सहभागी नहुने अभ्यास देखाउन थालेका छन्। यदि यो सचेत नीति हो भने यसले प्रशासनिक समय बचत गर्नुका साथै सरकारको ध्यान प्रचारभन्दा कार्यसम्पादनमा केन्द्रित भएको सन्देश दिन सक्छ। जनताले पनि नेताहरू भाषणभन्दा परिणाम दिनतर्फ केन्द्रित भएको अनुभूति गर्न सक्छन्।
यद्यपि, उद्घाटनमा नजानु मात्र उपलब्धि होइन। त्यससँगै विकास आयोजनाको समयमै सम्पन्नता, गुणस्तर, पारदर्शिता र सेवा प्रवाहमा सुधार देखिनुपर्छ।
यदि नेताहरू समारोहबाट टाढा रहने तर काममा पनि प्रभावकारी नहुने अवस्था भयो भने त्यसको कुनै अर्थ रहँदैन। त्यसैले उद्घाटन संस्कृतिको परिवर्तनसँगै कार्यसम्पादनको संस्कृतिमा पनि परिवर्तन आवश्यक छ।
राजनीतिक रूपमा हेर्दा यस्तो अभ्यासले सत्ता भनेको प्रचारको माध्यम होइन, सेवा र जिम्मेवारीको संस्था हो भन्ने सन्देश दिन सक्छ। श्रमिकलाई सम्मान गर्ने, प्राविधिक दक्षतालाई प्राथमिकता दिने र विकासलाई राजनीतिक प्रदर्शनको साधन नबनाउने संस्कृतिले लोकतन्त्रलाई परिपक्व बनाउँछ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन एक जना वृद्ध श्रमिकको हातबाट गराइनु केवल औपचारिक कार्यक्रम थिएन, यसले नेपालको राजनीतिक र सामाजिक संस्कृतिलाई नयाँ दिशातर्फ डोर्याउने प्रतीकात्मक सन्देश दिएको छ।
समृद्ध राष्ट्रको आधार केवल ठूला योजना वा राजनीतिक भाषण होइन, श्रमको सम्मान हो। जुन समाजले श्रमिकलाई सम्मान गर्छ, त्यही समाजले उत्पादन, उद्यम र समृद्धिको बलियो आधार निर्माण गर्न सक्छ।
नेपालमा भने विडम्बना, श्रमभन्दा पद र प्रतिष्ठालाई बढी महत्त्व दिने सोच अझै बलियो छ। यही कारण लाखौँ युवा आफ्नै देशमा श्रम गरेर सम्मानजनक जीवन बाँच्ने वातावरण नपाएर विदेशिन बाध्य भएका छन्।
यदि नेपालमै प्रत्येक श्रमको उचित मूल्य, सामाजिक सम्मान, सुरक्षित कार्य वातावरण र न्यायोचित पारिश्रमिक सुनिश्चित गर्न सकियो भने वैदेशिक रोजगारीप्रतिको निर्भरता स्वतः घट्दै जानेछ। युवाले विदेशमा खोजेको अवसर आफ्नै देशमा देख्न थालेपछि श्रम पलायनको गति पनि कम हुनेछ।
यही सन्दर्भमा सरकारले देशकै पहिलो सडक सुरुङमार्गजस्तो ऐतिहासिक आयोजनाको उद्घाटन एक जना श्रमिकबाट गराउनु श्रम संस्कृतिलाई स्थापित गर्ने प्रयास का रूपमा विश्लेषण हुन थालेको छ। यसले विकासका वास्तविक नायक राजनीतिक नेता होइनन्, आफ्नो पसिना बगाएर सपना साकार बनाउने श्रमिक हुन् भन्ने सन्देश दिएको छ।
यदि यो केवल एक दिनको प्रतीकात्मक कार्यक्रम नभई राज्यको दीर्घकालीन सोच र व्यवहारको सुरुआत हो भने यसले नेपालको राजनीतिक संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
उद्घाटनको मोहभन्दा श्रमको सम्मान, प्रचारभन्दा परिणाम र व्यक्तिपूजाभन्दा कार्यसंस्कृतिलाई प्राथमिकता दिने अभ्यास नै समृद्ध नेपालको बलियो आधार बन्न सक्छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन त्यसैले केवल एउटा पूर्वाधार सञ्चालनमा आएको घटना होइन। यो विकासको श्रेय श्रमिकलाई दिने, उद्घाटन मोह त्याग्ने र राजनीतिक संस्कृतिलाई परिणाममुखी बनाउने एउटा प्रतीकात्मक सन्देश पनि हो।
यही अभ्यास आगामी दिनमा पनि निरन्तर रह्यो भने नेपाली राजनीतिले प्रचारमुखी संस्कृतिबाट कार्यमुखी संस्कृतितर्फ नयाँ यात्रा सुरु गरेको मान्न सकिनेछ।



प्रतिक्रिया राख्नुहोस्