जन सरोकार

हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग

झापाको हल्दीबारी गाउँपालिकाले जनसङ्ख्या वृद्धि र प्रशासनिक सहजतालाई आधार मान्दै हालको पाँच वडा बढाएर सात वटा कायम गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा गाउँपालिकामा सोमबार सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलले वडा नं १ र २ लाई विभाजन गरी थप एक–एक वडा कायम गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकले हल्दीबारी गाउँपालिकाको भौगोलिक, ऐतिहासिक तथा प्रशासनिक पहिचान यथावत राख्दै अन्य स्थानीय तहसँग समायोजन नगर्ने निर्णय पनि गरेको छ ।

अध्यक्ष लिङ्देनले जनसङ्ख्या र प्रशासनिक आवश्यकताअनुसार वडा सङ्ख्या वृद्धि गर्नु आवश्यक रहेको बताउँदै भन्नुभयो, “हल्दीबारीको पहिचान जोगाउँदै स्थानीयको आवश्यकताअनुसार वडा सङ्ख्या सात पुर्याउन सम्बन्धित निकायसँग औपचारिक माग गर्ने निर्णय गरेका छौँ ।”

यसअघि जिल्लास्तरीय पुनरावलोकन अध्ययन समिति झापाले यही साउन १२ गते जिल्ला समन्वय समितिको सभाहलमा पहिलो चरणको सर्वपक्षीय छलफल सुरु गरेको थियो ।

त्यसपछि जिल्लाका १५ वटै स्थानीय तहलाई पालिकास्तरीय छलफल गरी सुझाव पठाउन पत्राचार गरिएकाले हाल सबै पालिकामा छलफल भइरहेको समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख विश्वराज बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार नेपाल सरकारले तय गरेको मापदण्डअनुसार स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा सर्वसाधारणबाट प्राप्त सुझावका आधारमा समितिले पुनरावलोकन प्रक्रिया अघि बढाउनेछ । हाल झापामा आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन् ।

पुनरावलोकनसम्बन्धी मापदण्डअनुसार स्थानीय तहको सिमाना हेरफेरका लागि सम्बन्धित स्थानीय तहका तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

त्यस्तै, पालिका गाभ्ने (मर्ज) प्रस्ताव साधारण बहुमतबाट पारित गरी प्रदेश सरकारमार्फत सङ्घ सरकारमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.