प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, दुई देशबीचको सम्बन्ध र सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता
कुनै पनि देशका राजदूतसँग एकल भेटवार्ता नगर्ने पूर्वअडान परिवर्तन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्नुभएको छ।
यसै क्रममा प्रधानमन्त्री शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दुवै देशका प्रतिनिधिसहित करिब ४५ मिनेट भेटवार्ता भएको थियो।
भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।
भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न भारत प्रतिबद्ध रहेको बताउनुभएको थियो।
प्रधानमन्त्री शाहले यसअघि कुनै पनि देशका राजदूतसँग एकल भेटवार्ता नगर्ने नीति लिनुभएको थियो। त्यसक्रममा उहाँले नेपालमा रहेका विभिन्न देशका राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्दै कूटनीतिक सम्बन्धका विषयमा छलफल गर्नुभएको थियो।
तर पछिल्लो समय प्रधानमन्त्री शाहले नेपालका प्रमुख छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्नुभएको हो।
यसै क्रममा आजै प्रधानमन्त्री शाह र नेपालका लागि चिनियाँ राजदूतबीच पनि भेटवार्ता हुँदैछ। उक्त भेटवार्ता दिउँसो ३ बजेका लागि तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भारतीय र चिनियाँ राजदूतसँगको छुट्टाछुट्टै भेटवार्तालाई प्रधानमन्त्री शाहको कूटनीतिक कार्यशैलीमा आएको परिवर्तनका रूपमा समेत हेरिएको छ।
दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै उच्चस्तरीय संवाद र सहकार्यलाई निरन्तरता दिने प्रधानमन्त्रीको तयारीका रूपमा यी भेटवार्तालाई लिन सकिन्छ।




प्रतिक्रिया राख्नुहोस्