प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण : पर्यटनमा नयाँ उत्साह, मोदी भ्रमणपछिको प्रभाव दोहोरिने अपेक्षा
नेपालको विश्वप्रसिद्ध हिमाली जिल्ला मुस्ताङ प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणपछि पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा आएको छ। हिमाल, मरुभूमिजस्तो भू–दृश्य, तिब्बती सभ्यता, विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर, उपल्लो मुस्ताङको प्राचीन संस्कृति तथा कालीगण्डकी नदीको शालिग्राम क्षेत्रका कारण मुस्ताङ नेपालकै प्रमुख धार्मिक, सांस्कृतिक र साहसिक पर्यटन गन्तव्यका रूपमा परिचित छ।
एआई सिर्जित नमूना तस्वीर
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रभावसँगै विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको मुस्ताङलाई प्रधानमन्त्री शाहको भ्रमणले थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय तथा विशेष गरी युवामाझ चर्चित प्रधानमन्त्री बालेन्द्र शाह जहाँ पुग्नुहुन्छ, त्यहाँका तस्बिर र भिडियो केही समयमै लाखौँ मानिससम्म पुग्ने गरेका छन्।
यही कारण उहाँको मुस्ताङ भ्रमणले यस क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र साहसिक पर्यटनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नयाँ प्रचार मिल्ने विश्वास गरिएको छ।
प्रधानमन्त्री शाहले बर्खायामकै कठिन समयमा बेनी–जोमसोम सडकखण्डको यात्रा आफैँ सवारीसाधन चलाएर शनिबार जोमसोम पुग्नुभएको थियो। त्यसपछि उहाँले मुक्तिनाथ मन्दिरमा दर्शन गरी जोमसोममा बास बस्नुभयो र आइतबार काठमाडौं फर्किनुभयो।
सडकमार्गबाट गरिएको उहाँको यात्राले बेनी–जोमसोम सडकको वास्तविक अवस्था प्रत्यक्ष अनुभूति गराएको भन्दै स्थानीयले पूर्वाधार सुधारमा सरकारको ध्यान पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की पनि मुस्ताङ पुग्नुभएको थियो। उहाँ भने काठमाडौंबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकोप्टरमार्फत सिधै मुक्तिनाथ क्षेत्रमा पुग्नुभएको थियो। प्रधानमन्त्री शाहले भने सडकमार्ग रोजेर स्थानीयले दैनिक भोग्दै आएको यात्रा–सास्ती आफैँ अनुभव गर्नुभएको हो।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
“प्रधानमन्त्री जहाँ जानुहुन्छ, त्यहाँको पर्यटनको चर्चा स्वतः बढ्छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथ दर्शनसहितको उहाँको भ्रमणले मुस्ताङको धार्मिक पर्यटनलाई नयाँ ऊर्जा दिएको छ। सामाजिक सञ्जालमार्फत लाखौँ मानिसले मुस्ताङलाई फेरि एकपटक नजिकबाट हेर्ने अवसर पाएका छन्।”
उहाँले प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट सुरु हुनु पनि प्रतीकात्मक रूपमा महत्वपूर्ण भएको उल्लेख गर्दै राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको स्तरोन्नति अब सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
अध्यक्ष लालचनले कोरला नाका हुँदै तिब्बतको कैलाश–मानसरोवर यात्रालाई सहज बनाउन अध्यागमन सेवा विस्तार, राहदानी सुविधा तथा उपल्लो मुस्ताङ प्रवेशसम्बन्धी व्यवस्थामा सुधार गर्न सके नेपाल, भारत र चीनलाई जोड्ने त्रिदेशीय धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो।
मुक्तिनाथ होटल एशोसिएसनका अध्यक्ष सुरज गुरुङले पनि प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङका पर्यटन व्यवसायीमा नयाँ आशा थपेको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटनको महत्वलाई थप उजागर गर्नुका साथै देश–विदेशका पर्यटकलाई मुस्ताङ भ्रमणका लागि प्रेरित गर्ने विश्वास गरिएको छ।
पर्यटन व्यवसायीहरूले यसअघि सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको अनुभव स्मरण गरेका छन्।
मोदीको भ्रमणपछि मुक्तिनाथ भारतीय हिन्दू तीर्थयात्रीबीच अझ बढी परिचित बनेको र त्यसको प्रत्यक्ष लाभ मुस्ताङको पर्यटन व्यवसायले पाएको उनीहरूको भनाइ छ।
मोदीपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुक्तिनाथ दर्शन गर्नुभएको थियो। अब प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणले विशेष गरी सामाजिक सञ्जालमार्फत युवा पुस्तामाझ मुस्ताङको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार कुनै पनि चर्चित व्यक्तित्वको भ्रमणले गन्तव्यको ब्रान्डिङमा सकारात्मक प्रभाव पार्ने गर्दछ।
सामाजिक सञ्जालको युगमा यस्तो प्रभाव झन् तीव्र हुने भएकाले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्