विश्व समाचार

छ महिनाको इरान युद्धपछि नेतान्याहु दबाबमा, रणनीतिक उपलब्धिमाथि प्रश्न

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दशकौँदेखि अमेरिकालाई इरानविरुद्ध कडा सैन्य कारबाही गर्न दबाब दिँदै आउनुभएको थियो।

अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको समर्थनमा सुरु भएको छ महिनाको युद्धले इरानको आणविक तथा सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको दाबी गरिए पनि युद्धको रणनीतिक उपलब्धिमाथि अहिले प्रश्न उठ्न थालेको छ।

युद्धको सुरुआतमै इजरायल र अमेरिकाले संयुक्त सैन्य कारबाही गर्दै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित उच्च सैन्य नेतृत्वलाई निशाना बनाएको थियो। त्यसपछि इरानका आणविक केन्द्र, क्षेप्यास्त्र अड्डा र सैन्य संरचनामा व्यापक आक्रमण गरियो।

इजरायलले इरानको आणविक क्षमता वर्षौँ पछाडि धकेलेको दाबी गरे पनि इरानी शासन कायम रहेको छ भने तेहरानले युद्धपछिका महिनामा सैन्य र कूटनीतिक गतिविधि थप तीव्र बनाएको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ)का पछिल्ला तथ्याङ्कअनुसार युद्ध सुरु भएयता हर्मुज जलडमरूमध्य र वरपर ६८ वटा सुरक्षा घटना भएका छन्।

ती घटनामा कम्तीमा २० जना समुद्री कर्मचारीको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन्। विश्वको ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज क्षेत्रमा तनाव अझै पूर्ण रूपमा समाप्त हुन सकेको छैन।

इजरायलको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका पूर्व वरिष्ठ गुप्तचर विश्लेषक ड्यानी सिट्रिनोभिजले इजरायलले सैन्य रूपमा केही सफलता हासिल गरे पनि दीर्घकालीन रणनीतिक उद्देश्य भने पूरा नभएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार इरानलाई स्थायी रूपमा कमजोर बनाउने लक्ष्यभन्दा युद्धले क्षेत्रीय अस्थिरता र नयाँ सुरक्षा चुनौती थप बढाएको छ।

युद्धका क्रममा इजरायलको पक्षमा दृढ रूपमा उभिनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला महिनामा आफ्नो रणनीतिमा परिवर्तन गर्दै युद्धविराम, वार्ता र आर्थिक दबाबलाई प्राथमिकता दिन थाल्नुभएको छ।

यद्यपि उहाँले इरानमाथि थप आर्थिक प्रतिबन्ध घोषणा गर्नुभएको छ भने अर्कोतर्फ नयाँ आणविक सम्झौताका लागि वार्ताको ढोका पनि खुला राख्नुभएको छ।

विश्लेषकहरूका अनुसार अहिले इजरायल दुई विकल्पबीच उभिएको छ—अमेरिका–इरानबीच हुने सम्भावित नयाँ आणविक सम्झौता स्वीकार गर्ने वा इरानमाथि थप दबाब सिर्जना गर्दा उसलाई पुनः आणविक हतियार विकासतर्फ धकेल्ने जोखिम मोल्ने।

टुरान रिसर्च सेन्टरका वरिष्ठ फेलो एलेक्स ग्रिनबर्गले युद्धले इरानको सैन्य क्षमता, अर्थतन्त्र र आणविक कार्यक्रमलाई उल्लेखनीय क्षति पुर्‍याएको स्वीकार गर्नुभएको छ। तर उहाँका अनुसार अमेरिका र इरानबीच इजरायलको हितअनुकूल सम्झौता हुने सम्भावना अझै अनिश्चित छ।

युद्धले इजरायलको आन्तरिक राजनीतिलाई पनि प्रभावित गरेको छ। जेरुसेलमको हिब्रू विश्वविद्यालय र अगाम इन्स्टिच्युटले सार्वजनिक गरेको सर्वेक्षणअनुसार ९२ प्रतिशत इजरायली नागरिकले युद्धबाट इरानले बढी लाभ लिएको वा आफूलाई विजेता ठानेको धारणा व्यक्त गरेका छन्।

आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनअघि यस्तो जनमत प्रधानमन्त्री नेतान्याहुका लागि नयाँ राजनीतिक चुनौतीका रूपमा हेरिएको छ।

उता, तेल अभिभ विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता लियोरा हेन्डेलम्यान–बाभुरले युद्धले इरानी जनतामा अमेरिका र इजरायलप्रतिको वैमनस्य अझ गहिरो बनाएको बताउनुभएको छ। उहाँका अनुसार नेतृत्व परिवर्तन भए पनि युद्धले सिर्जना गरेको अविश्वास र शत्रुता दीर्घकालसम्म कायम रहने सम्भावना छ।

युद्धको सक्रिय चरण अहिले मत्थर भए पनि हर्मुज जलडमरूमध्यको सुरक्षा, इरानमाथिका आर्थिक प्रतिबन्ध, नयाँ आणविक सम्झौताको सम्भावना र इजरायल–इरानबीचको अविश्वासका कारण मध्यपूर्वको भू–राजनीतिक तनाव अझै समाप्त भइसकेको छैन। विश्लेषकहरूका अनुसार युद्ध सकिए पनि त्यसका राजनीतिक, आर्थिक र सुरक्षा प्रभाव भने लामो समयसम्म कायम रहनेछन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.