जन सरोकार

राहत सङ्कलनका नाममा हुने दुरुपयोग रोक्न म्याग्दीमा कडाइ

भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले व्यक्तिगत तथा संस्थागत खाताको नम्बर वा क्युआर कोड सार्वजनिक गरी राहत सङ्कलन नगर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले सङ्कलित रकम सिधै सरकारको खातामा जम्मा गर्न आग्रह गर्नुभयो ।

बैठकले जिल्लामा प्राप्त हुनसक्ने राहत सामग्रीको विवरण तयार पार्ने र तत्काल राहत सामग्री सङ्कलन नगर्ने निर्णयसमेत गरेको छ । राहतलाई व्यवस्थित बनाउन तथा दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

यसैबीच, रसुवाको भोटेकोशी बाढीमा परी म्याग्दीका दुई जना बेपत्ता भएका छन् भने तीन जना सम्पर्कमा आएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मालिका गाउँपालिका–४ ओखरबोटका २५ वर्षीय भूपेन्द्र रेग्मी र धवलागिरि गाउँपालिका–२ खोरियाका २३ वर्षीय प्रविण पुर्जा सम्पर्कविहीन छन् ।

त्यस्तै, मङ्गला गाउँपालिका–५ किर्चौरका तीर्थविक, धवलागिरि गाउँपालिका–२ खोरियाका टीकाबहादुर र प्रदीप पुर्जा सम्पर्कमा आएका प्रशासनले जनाएको छ ।

सहायक प्रजिअ आचार्यका अनुसार उनीहरू रसुवाको त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए । बाढी आएपछि उनीहरू सुरक्षित स्थानतर्फ भागेका थिए ।

धादिङको गल्छीमा काम गर्दै आएका तीर्थ विकले बाढी आएपछि भागेर ज्यान जोगाएको र चार दिनपछि परिवारसँग सम्पर्कमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी आएको सूचना पाउनेबित्तिकै भागेर ज्यान जोगाएँ । चार दिन पैदलयात्रा गरेर गल्छी आएपछि बल्ल परिवारसँग सम्पर्क गर्न पाएँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.