राष्ट्रियसभा बैठक : ‘एकताबद्ध भएर राष्ट्रिय विपत्तिसँग जुधौँ’
राष्ट्रियसभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
भोटेकोशी विपत्तिपछि बसेको सभाको मंगलबारको बैठकको शून्य समयमा सदस्यहरूले पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्वचेतावनीलाई कडाइका साथ कार्यान्वयन र विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका कमलादेवी पन्तले बाढी पहिरोलगायत विपद्को पूर्वचेतावनीलाई वेवास्ता नगरी तत्काल कार्यमा परिणत गर्न आग्रह गर्नुभयो । उहाँले बेपत्ता नागरिकको खोजी र उद्धारमा सम्पूर्ण शक्ति प्रयोग गर्न तथा जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई सुझाव दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका जयन्तीदेवी राईले बाढीबाट प्रभावितलाई तत्काल उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका नरबहादुर विष्टले विपद्को समयमा एकद्वार प्रणालीबाट राहत वितरण गर्दा प्रभावित थप पीडामा पर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कांग्रेसका नारायणदत्त मिश्रले मुलकको उत्तरी भेकमा रहेका जोखिमपूर्ण हिमतालका बारेमा तत्काल अध्ययन गर्न र विपद् उत्थानशील पूर्वाधार निर्माणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका मदनकुमारी शाह ‘गरिमा’ ले राष्ट्रिय विपत्तिमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा खोज, उद्धार, राहत, पुनर्वास र पुनःनिर्माण गर्न माग गर्नुभयो । कांग्रेसका युवराज शर्माले कमजोर पूर्वसूचना प्रणालीका कारण ठूलो क्षति भएको उल्लेख गर्दै उक्त प्रणालीलाई अत्याधुनिक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रलक्ष्मी गैरेले जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको शीघ्र उद्धारमा थप क्रियाशीलता बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सुरेशकुमार आले मगरले जलवायु परिवर्तनको कारण भोटेकोशी विपत्ति सिर्जना भएकाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सोनाम ग्याल्जेन शेर्पाले विपद्सँग जुध्न गर्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै बाढी प्रभावितको उद्धारमा सरकारको प्रयासको सरहाना गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्