अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धार, राहत वितरण एवं पुनरुत्थानका विषयमा जिल्लास्थित सरोकारवालासँग छलफल गर्नुभएको छ ।
बिहीबार नुवाकोट आउनुभएकी मन्त्री रावलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनधनको क्षति, उत्पन्न समस्या तथा तत्काल गर्नुपर्ने समाधानका विषयमा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गर्नुभएको हो ।
विदुर नगरपालिकाका जनप्रतिनिधिसहित जिल्लास्थित सरोकारवालासँगको छलफलमा मन्त्री रावलले अकल्पनीय विपत्तिका बीच जतिसक्दो छिटो गरिएको खोज तथा उद्धार, विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न सञ्चालन गरिएको ‘होल्डिङ सेन्टर’ तथा त्यसको व्यवस्थापनको प्रशंसा गर्नुभयो ।
“जनप्रतिनिधि र कर्मचारी स्वयं प्रभावित भएको अवस्थामा पनि दिनरात नभनी बाढीपीडितको असहज परिस्थितिलाई सहज बनाउन पुर्याएको योगदान उच्च छ”, मन्त्री रावलले भन्नुभयो, “अकल्पनीय विपत्तिमा गरिएको उद्धार, विस्थापित नागरिकलाई सुरक्षित बासस्थानमा राख्ने कार्य र असहज परिस्थितिलाई सहज बनाउन भएका अभ्यास सबैका लागि नमुना बनेका छन् । अब यही सन्देश पुनरुत्थानको काममार्फत पनि दिनुपर्दछ ।”
मन्त्री रावलसँगको छलफलमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपीडित नागरिकका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सुरक्षित बसोबास सुनिश्चित गर्न तीन तहका सरकारबीच विशेष पहलसहित निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले तत्कालको उद्धार कार्य सम्पन्न भए पनि बाढीबाट प्रभावित नागरिकका घर तथा संरचनाको खोजी, अवरुद्ध सडक तथा पहुँच मार्ग तत्काल सञ्चालनमा ल्याई प्रभावित क्षेत्रको आवागमन सहज बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, विगतमा पुल रहेका स्थानमा तत्काल बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन उहाँले माग गर्नुभयो ।
‘होल्डिङ सेन्टर’मा बसोबास गरिरहेका बाढीपीडितलाई दीर्घकालीन समाधानसहित सुरक्षित र सम्मानजनक रूपमा घर फर्काउने वातावरण बनाउन तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
“बाढीबाट बेत्रावती, भैँसे, अक्करे, त्रिशूली, देवीघाटलगायत बजार उठिबास लागेको छ । नयाँ बस्ती निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक जग्गाको व्यवस्थापनमा सङ्घीय सरकारको साथ खोजेका छौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विपद्का कारण आर्थिक रूपमा प्रभावित भएका र प्रभावित क्षेत्रका नागरिकले लिएको ऋणमा लचकता अपनाई अनुदान र थप सहयोग भएमा लक्ष्यभित्र पुनरुत्थान सम्पन्न गर्न सकिने छ ।”
मन्त्री रावललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी उपरीक्षक विपिन रेग्मीलगायत जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरूले जिल्लाका होल्डिङ सेन्टरको अवस्था तथा व्यवस्थापन, प्राप्त राहत सामग्री र त्यसको समानुपातिक वितरणका साथै नागरिकको दैनिक जनजीवनसँग जोडिएका स्वास्थ्य, आवागमन, विद्युत्, खानेपानीलगायतका विषयमा जानकारी गराएका थिए ।





प्रतिक्रिया राख्नुहोस्