जन सरोकारबिशेष

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुईजनाको जीवित उद्धार

भोटेकोशी बाढीले क्षतविक्षत भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवित उद्धार गरिएको छ । सुरुङभित्रबाट सञ्जय साह र कबीर महर्जनको जीवित उद्धार गरिएको हो ।

 बाढीले क्षतविक्षत बनाएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ। सुरुङभित्रबाट सञ्जय साह र कबीर महर्जनलाई सकुशल बाहिर निकालिएको हो।

उद्धार कार्यमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेका अनुसार सञ्जय साह आयोजनामा मेकानिकल फोरम्यान र कबीर महर्जन जलविद्युत् स्वचालन परियोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्थ्यो।

सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको उहाँले बताउनुभयो।

सप्तरीको कोइलाडी–८ स्थायी घर भएका ३० वर्षीय सञ्जय साह माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत हुनुहुन्थ्यो भने काठमाडौं महानगरपालिका–३२, बालकुमारी निवासी ४५ वर्षीय कबीर महर्जन जलविद्युत् स्वचालन परियोजनामा कार्यरत हुनुहुन्थ्यो।

नेपाली सेनाका अनुसार जीवित उद्धार गरिएका दुवै जनाको उपचार भइरहेको छ। कबीर महर्जनलाई एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार थालिएको छ भने सञ्जय साहको उपचार नुवाकोटस्थित त्रिशूली अस्पतालमा भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो।

उद्धारकर्मीहरूले चुनौतीपूर्ण भूगोल, सुरुङभित्रको प्रतिकूल अवस्था र बाढीपछिको जोखिमका बीच खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।

सुरुङभित्र रहेका अन्य व्यक्तिको सकुशल उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य प्राविधिक टोली परिचालित छन्।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनासहित विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।

बाढीका कारण आयोजनाको सुरुङमा काम गरिरहेका केही कामदार फसेपछि कठिन परिस्थितिमा खोज तथा उद्धार अभियान सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.