विश्व समाचार

टिकटकमा दोस्तोयेभ्स्कीको जादु, १८० वर्ष पुरानो ‘ह्वाइट नाइट्स’ फेरि बेस्टसेलर

रुसी साहित्यकार फ्योदोर दोस्तोयेभ्स्कीको करिब १८० वर्षअघि प्रकाशित लघु उपन्यास ‘ह्वाइट नाइट्स’ सामाजिक सञ्जाल टिकटकमा अप्रत्याशित रूपमा चर्चामा आएपछि विश्वका विभिन्न मुलुकमा यसको बिक्री उल्लेखनीय रूपमा बढेको छ।

१९औँ शताब्दीमा प्रकाशित यो कृतिले विशेषगरी ‘बुकटक’ समुदायमार्फत युवा पुस्तालाई आकर्षित गरेको हो। प्रेम, एक्लोपन र सपनाको संसारलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास अहिले ब्राजिल, बेलायत र स्पेनलगायत देशमा पुनः बेस्टसेलर बनेको छ।

ब्राजिलका २७ वर्षीय पुस्तक सामग्री निर्माता (बुक इन्फ्लुएन्सर) मार्सेलो नोगुएराले आफू शास्त्रीय साहित्यका गहिरा पाठक नभए पनि ‘ह्वाइट नाइट्स’ले आफूलाई गहिरो रूपमा प्रभावित गरेको बताउनुभयो। टिकटकमा उहाँका करिब १३ हजार अनुयायी छन्।

ब्राजिलको एडिटोरा ३४ प्रकाशनका अनुसार दोस्तोयेभ्स्कीका प्रारम्भिक कृतिमध्ये एक मानिने ‘ह्वाइट नाइट्स’को बिक्री गत वर्षको तुलनामा ४६३ प्रतिशतले वृद्धि भएको छ। बेलायत र स्पेनमा पनि यसको माग तीव्र रूपमा बढिरहेको छ।

नोगुएराका अनुसार अहिलेको ‘जेन–जेड’ पुस्ताले उपन्यासको मुख्य पात्रमा आफूलाई भेटिरहेका छन्। “एक्लो सपनादर्शी पात्रले आजका धेरै युवाको मनोभावलाई प्रतिनिधित्व गर्छ,” उहाँले भन्नुभयो।

उपन्यासमा सेन्ट पिटर्सबर्गका सडकमा हिँड्ने क्रममा एक युवतीसँग भेट हुने र उनीसँग गहिरो प्रेममा पर्ने एक युवकको कथा चार रात र एक बिहानको घटनाक्रममा प्रस्तुत गरिएको छ। कल्पनाको संसारमा बाँचेको पात्र पहिलो पटक यथार्थसँग साक्षात्कार गर्छ। प्रेमको कथा छोटो भए पनि त्यसले जीवनमा गहिरो प्रभाव पार्ने सन्देश दिन्छ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै उद्धृत हुने यसको एक प्रसिद्ध भनाइ छ— “हे भगवान्! आनन्दको एउटा मात्रै क्षण पनि के एउटा मानिसको सम्पूर्ण जीवनका लागि पर्याप्त हुँदैन र?” यही संवादले क्षणिक खुसीको स्थायी महत्त्वलाई उजागर गरेको भन्दै टिकटक प्रयोगकर्ताले व्यापक रूपमा साझा गरिरहेका छन्।

बुकटक समुदायमा हजारौँ टिप्पणीहरूले दोस्तोयेभ्स्कीप्रति सामाजिक सञ्जाल पुस्ताको आकर्षण बढ्दै गएको देखाउँछन्। एक प्रयोगकर्ताले “यो उपन्यासले वास्तविक जीवनलाई कविताजस्तै सुन्दर ढंगले प्रस्तुत गर्छ” भन्दै प्रतिक्रिया जनाएकी छन्।

रुसी साहित्यकी पारखी तथा २९ वर्षीया ब्राजिली इन्फ्लुएन्सर पालोमा लिमाले पनि ‘ह्वाइट नाइट्स’ पढेपछि धेरै युवा आफ्नो युट्युब च्यानलमा आएको बताउनुभयो।

उहाँका अनुसार छोटो तर भावनात्मक कथा भएकाले यो पुस्तक टिकटकमा लोकप्रिय हुने सबै गुण बोकेको छ। साथी–साथीबीचको सम्बन्ध प्रेममा रूपान्तरण हुने कथावस्तु पनि टिकटकमा अत्यधिक रुचाइने विषयमध्ये एक हो।

उता रुसमा भने यो लोकप्रियतालाई आश्चर्य र गर्व दुवै रूपमा हेरिएको छ। मस्को पुस्तक मेलामा सहभागी लेखिका एकातेरिना क्विट्कोले रुसी युवामा भने यस्तो उत्साह खासै नदेखिएको बताउनुभयो। उहाँका अनुसार पश्चिमी मुलुकका किशोर–किशोरीहरू प्रेम र आत्मीयताको खोजीमा रहेको पात्रसँग आफूलाई बढी जोडेर हेर्न सक्छन्।

‘ह्वाइट नाइट्स’ अहिले दोस्तोयेभ्स्कीका अन्य चर्चित कृतितर्फ युवा पाठकलाई आकर्षित गर्ने प्रवेशद्वारसमेत बनेको छ। ब्राजिलको एडिटोरा ३४ प्रकाशनका अनुसार यस वर्षको पहिलो सात महिनामै दोस्तोयेभ्स्कीको प्रसिद्ध उपन्यास ‘क्राइम एन्ड पनिसमेन्ट’को बिक्री पनि ५३ प्रतिशतले बढेको छ।

छोटो भिडियोले पढ्ने बानी घटाइरहेको भन्ने आलोचना भइरहेका बेला टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालले भने शास्त्रीय साहित्यका लागि नयाँ पुस्ताका पाठक तयार गरिरहेको विश्लेषण गरिएको छ।

नोगुएराका अनुसार “पुस्तक पढ्ने व्यक्तिको पहिचान आफैँमा आकर्षक जीवनशैलीका रूपमा प्रस्तुत हुन थालेको छ।” उहाँले डिजिटल संस्करणभन्दा आकर्षक आवरण भएको छापिएको पुस्तकप्रति युवाको मोह बढी रहेको पनि बताउनुभयो।

‘ह्वाइट नाइट्स’बारे बनाएको आफ्नो टिकटक भिडियोमा नोगुएराले रंगीन ‘पप–आर्ट’ शैलीको आवरण भएको संस्करण प्रयोग गर्नुभएको थियो, जुन रियो दि जेनेरोका धेरै पुस्तक पसलमा अहिले बिक्री भइसकेको छ।

रुसी साहित्यकी ब्राजिली अनुसन्धानकर्ता तथा अनुवादक सेसिलिया रोजासले सामाजिक सञ्जालमार्फत शास्त्रीय साहित्यप्रति बढेको रुचिको स्वागत गर्नुभयो।

तर सामाजिक सञ्जालमा हुने सबै पुस्तक समीक्षा साहित्यिक समालोचना नहुने भन्दै उहाँले कतिपय सामग्री वास्तविक समीक्षा भन्दा पनि प्रचार जस्तै हुने भएकाले पाठकले त्यसलाई छुट्याएर बुझ्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.