चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय
अमेरिकाभित्र गैरकानूनी रूपमा चिनियाँ सरकारका लागि एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई सङ्घीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
एकाउन्न वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा अभियोग स्वीकार गर्नुभएको थियो । अदालतले उहाँलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको छ । उहाँका वकिल चार्ल्स बर्नह्यामका अनुसार पाउकेनले फैसलाविरुद्ध अपिल नगर्ने निर्णय गर्नुभएको छ ।
वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका बेला चिनियाँ सरकारका लागि कानूनी रूपमा आवश्यक खुलासा नगरी काम गरेको आरोपमा भएको यो पछिल्लो अमेरिकी सङ्घीय अभियोजन हो ।
राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन ए. आइसेनबर्गले पाउकेनले चिनियाँ राज्य सुरक्षा मन्त्रालय (एमएसएस) का लागि संवेदनशील सूचना सङ्कलन, व्यक्ति भर्ती र अन्य गतिविधिमा सहयोग गरेको आरोप लगाउनुभयो ।
पाउकेनले सन् २०१० मा चीन गएपछि सिसिटिभीसहित विभिन्न चिनियाँ सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्नुभएको थियो । सन् २०२४ देखि उहाँ चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
अदालतमा पेस गरिएको शपथपत्रअनुसार कम्तीमा सन् २०१९ देखि पक्राउ पर्नुअघिसम्म पाउकेनले ‘क्याथी’ नामले चिनिने एक व्यक्तिको निर्देशनमा काम गर्नुभएको थियो ।
न्याय मन्त्रालयका अनुसार उहाँले उक्त कामबापत कम्तीमा एक लाख अमेरिकी डलर प्राप्त गर्नुभएको थियो । उहाँलाई संवेदनशील सूचना उपलब्ध गराउन सक्ने व्यक्तिहरू भर्ती गर्नसमेत निर्देशन दिइएको थियो ।
पाउकेनले चिनियाँ पक्षलाई कुनै वर्गीकृत सूचना नदिएको उहाँका वकिलले बताउनुभएको छ । पाउकेनले भने आफूमाथिको जिम्मेवारी स्वीकार गर्दै अदालतको सजाय सम्मान गर्नुभएको छ ।
अमेरिकी अधिकारीहरूले उहाँलाई जनवरी २०२५ मा अमेरिका फर्कने क्रममा रोकेर सोधपुछ गरेका थिए । उहाँलाई गत फेब्रुअरीमा पक्राउ गरिएको थियो ।
टेक्सासका पाउकेनले चीनमा काम गर्दा ‘टम म्याकग्रेगर’ उपनामसमेत प्रयोग गर्नुभएको थियो । उहाँले अमेरिका–चीन सम्बन्ध र चीनको सेन्जेन सहरबारे दुई पुस्तक प्रकाशित गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्