धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु
धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र उपकरणको व्यवस्थापनसहित औपचारिक रूपमा सुरु गरिएको हो ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रेको उद्घाटन गर्नुभयो । सेवा केन्द्र सञ्चालनमा आएसँगै धनकुटासहित आसपासका जिल्लाका बिरामीले आकस्मिक अवस्थामा रगतका लागि सुनसरी, मोरङलगायतका जिल्लामा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।
मन्त्री पराजुलीले रक्तसञ्चार सेवा केन्द्रलाई निरन्तर, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
अस्पताल र रक्तसञ्चार केन्द्रबीच अत्यन्त महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक धनकुटा जिल्ला अस्पतालको सेवा विस्तारका दृष्टिले रक्तसञ्चार केन्द्र सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले धनकुटा जिल्ला अस्पताललाई हालको ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्न निरन्तर पहलमा रहेको बताउनुभयो । अस्पतालको क्षमता विस्तारसँगै आवश्यक सेवा, सुविधा र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको तर्फबाट पहल भइरहेको उहाँको भनाइ छ ।
रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । मापदण्डअनुसार चार कोठे भवन निर्माण गरी आवश्यक उपकरण जडान गरिएको छ ।
प्रारम्भिक चरणमा आवश्यक बजेटको व्यवस्थापन भएपछि सेवा सञ्चालन गर्न सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताउनुभयो । उहाँका अनुसार रक्तसञ्चार केन्द्रमा चौबीसै घण्टा सेवा सञ्चालन गर्न चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ ।
अस्पताल हाल ५० शय्यामा सञ्चालनमा रहे पनि राज्यबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको छ । बिरामीको चाप र अस्पतालको वास्तविक आवश्यकता भने सरकारी स्वीकृत क्षमताभन्दा बढी रहेको अस्पतालले जनाएको छ ।
रक्तसञ्चार सेवा सञ्चालन भएपछि शल्यक्रिया, प्रसूति, दुर्घटना, आकस्मिक उपचार तथा अन्य जटिल स्वास्थ्य समस्याका बिरामीलाई तत्काल आवश्यक पर्ने रगत व्यवस्थापनमा सहजता हुने भएको छ ।
जिल्ला अस्पतालमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने प्रयास करिब डेढ दशकअघिदेखि हुँदै आएको थियो। आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा अन्य मापदण्ड पूरा गर्न नसक्दा विगतका प्रयासले मूर्तरूप लिन सकेको थिएन ।
लामो समयको प्रयासपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, अस्पताल विकास समिति, स्थानीय तह, देश विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा आवश्यक स्रोत जुटाइएको हो ।
नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका अध्यक्ष छत्रकुमार श्रेष्ठका अनुसार आवश्यक स्वीकृति लिएर रक्तसञ्चार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
‘लामो समयपछिको प्रयास अब सार्थक भएको छ,’ श्रेष्ठले भने, ‘यसको निरन्तरताका लागि आवश्यक सामग्री र अन्य व्यवस्थापनमा जनस्तर तथा स्थानीय तहसँग समन्वय गरिनेछ ।’
उहाँले रक्तसञ्चार केन्द्र सञ्चालन मात्र गर्नु पर्याप्त नभई नियमित रूपमा आवश्यक रगत तथा अन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि स्थानीय तह, सामाजिक सङ्घसंस्था, नागरिक समाज र सर्वसाधारणसँग निरन्तर सहकार्य गरिने उहाँको भनाइ छ ।
रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न सङ्घसंस्थाबाट १६ लाख ४५ हजार ४२८ रूपैयाँ आर्थिक सहयोग सङ्कलन भएको छ ।
एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले अस्पताल विकास समितिसँगको समन्वयमा सुरु गरेको अभियानमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विभिन्न राष्ट्रिय समन्वय परिषद्, अन्तरराष्ट्रिय समन्वय परिषद्सँग आबद्ध व्यक्ति तथा विभिन्न देशमा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो ।
राउतका अनुसार अमेरिका, जापान, चीन, अष्ट्रेलिया, हङकङ, फिलिपिन्सलगायत विभिन्न देशमा रहेका नेपाली तथा सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको छ । रक्तसञ्चार केन्द्रमा चौबीसै घण्टा सेवा उपलब्ध गराउने गरी चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष तामाङले बताउनुभयो ।
आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामीका लागि समयमै रगत उपलब्ध गराउनु रक्तसञ्चार केन्द्रको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । अस्पतालमा शल्यक्रिया तथा अन्य आकस्मिक उपचारका क्रममा रगत आवश्यक पर्ने अवस्था आउने भएकाले आफ्नै अस्पताल परिसरमा रक्तसञ्चार सेवा उपलब्ध हुनु महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
यसअघि धनकुटामा तत्काल रगत आवश्यक परेमा बिरामीका आफन्तले अन्य जिल्लामा रहेका रक्तसञ्चार केन्द्रसँग समन्वय गर्नुपर्ने अवस्था थियो ।
विशेषगरी सुनसरी र मोरङ पुगेर रगत ल्याउनुपर्ने बाध्यताले बिरामी र आफन्तलाई थप आर्थिक तथा मानसिक समस्या हुने गरेको थियो । अब धनकुटामै रक्तसञ्चार सेवा उपलब्ध भएपछि यस्तो समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने पहल
धनकुटा जिल्ला अस्पताल हाल ५० शय्यामा सञ्चालनमा रहे पनि सरकारी स्तरबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि यसको क्षमता विस्तार गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री पराजुलीले अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न निरन्तर पहलमा रहेको बताउनु भएको छ । अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति तथा सेवा सुविधा विस्तार गर्न सके धनकुटा र आसपासका नागरिकले जिल्लाबाहिर जानुपर्ने बाध्यता थप कम हुने अपेक्षा गरिएको छ ।
रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गर्ने समाजसेवी राजेन्द्रकुमार राउत, द्रोणप्रसाद गुरागाईं, विजय सन्तोषी राई, विदुर खवासलगायत सहयोगदातालाई समारोहमा सम्मान गरिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्