कतै बाढी, कतै खडेरी : जलवायु परिवर्तनले बिगार्दैछ विश्वको पानी चक्र
जलवायु परिवर्तनका कारण विश्वको पानी चक्र झन् अनियमित बन्दै गएको छ। कतै अत्यधिक वर्षा र बाढीको जोखिम बढिरहेको छ भने कतै खडेरी र पानीको गम्भीर अभाव देखिन थालेको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले जनाएको छ।
डब्लुएमओले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पानीसम्बन्धी जोखिम अझ बढ्न सक्ने चेतावनी दिइएको छ।
प्रतिवेदनअनुसार सन् २०२५ विश्वका नदीहरूका लागि पछिल्लो ३५ वर्षमा सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो। लगातार सातौँ वर्ष सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या अल्पमतमा रह्यो।
विश्वका करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो भने त्यति नै अनुपातमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह रहेको प्रतिवेदनमा उल्लेख छ।
हिमनदी र भूमिगत पानीजस्ता दीर्घकालीन पानीका स्रोतमा आएको गिरावटले अवस्था थप चिन्ताजनक बनाएको डब्लुएमओले जनाएको छ।
सन् २०२५ मा विश्वका सबै क्षेत्रमा हिमनदी लगातार चौथो वर्ष उल्लेख्य मात्रामा खुम्चिएका छन्। सन् २०२३ देखि २०२५ सम्म हिमनदीले करिब एक हजार चार सय गिगाटन पानीबराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ।
डब्लुएमओकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानुलाई विशेष चिन्ताको विषय बताउनुभएको छ। उहाँका अनुसार यी स्रोतले खडेरी वा सुक्खा मौसममा पानीको अभावलाई तत्काल सङ्कटमा परिणत हुन नदिने ‘बचत खाता’को काम गर्दै आएका थिए।
“अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ,” साउलोले भन्नुभएको छ। प्रतिवेदनअनुसार विश्वका धेरै स्थानमा भूमिगत पानीको सतह पनि निरन्तर घटिरहेको छ।
विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा सन् २०२५ मा ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको साउलोले बताउनुभएको छ। पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिँदै आएको गिरावटसमेत निरन्तर रहेको प्रतिवेदनमा उल्लेख छ।
डब्लुएमओले एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिमलाई थप बढाउन सक्ने जनाएको छ। करिब चार दशकयताकै शक्तिशाली एल निनो विकसित भएमा केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने साउलोले चेतावनी दिनुभएको छ।
यद्यपि एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनिसकेको प्रतिवेदनले देखाएको छ। यसले पानीको चक्रमा देखिएको असन्तुलनलाई प्राकृतिक मौसमी उतारचढावभन्दा बाहिरको दीर्घकालीन चुनौतीका रूपमा बुझ्नुपर्ने संकेत गरेको छ।
डब्लुएमओले पानी चक्रको अवस्था बुझ्न, जोखिमको पूर्वानुमान गर्न र प्रभावकारी पूर्वचेतावनी प्रणाली विकास गर्न थप गुणस्तरीय तथ्याङ्क तथा देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
साउलोका अनुसार पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्याङ्क, समान मापदण्ड र प्रभावकारी पूर्वचेतावनी प्रणाली आवश्यक छन्।
एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पुर्याउन सक्ने उल्लेख गर्दै उहाँले हालै चीन र नेपालमा देखिएको घटनालाई यसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।





प्रतिक्रिया राख्नुहोस्