स्वास्थ्य

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो ।

अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त हुनुभएको थियो । सञ्चालक समितिका सदस्यहरू असोज ६ गतेमात्रै चयन हुनुभएको थियो ।

नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नहुँदा अस्पतालका नयाँ खरिद प्रक्रिया, चिकित्सक कर्मचारीको वृत्तिविकास र बढेको तलब खुवाउन नसकिएको बताउनुभयो ।

जसका कारण प्रत्यक्ष रूपमा सेवाग्राही र चिकित्सक कर्मचारी प्रभावित भएका छन् । उहाँले भन्नुभयो, “बिरामीले निःशुल्क पाउने कतिपय सामग्री उपलब्ध गराउन सकिएको छैन, बिरामी आफैँले किन्नुपर्ने अवस्था छ ।” नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

आचार्यले अस्पताल सुधारका लागि बनेको समितिले अध्ययन गरिरहेको बताउँदै सो अध्ययन आएसँगै सुधारका थप काम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बिहानदेखि राति अबेरसम्म खटिएर काम गरिरहेका छौँ । केही दिनमै अनुभूति हुनेगरी काम देखिन्छ ।”

विसं २०७४ वैशाखमा आचार्य पहिलोपटक कार्यकारी निर्देशक हुँदा अस्पताल समस्यामा थियो । आचार्य निर्देशक हुनुअघि तत्कालीन समयमा स्थानीय प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो । हाल देखिएका समस्या समाधान गर्न आफू लागिपरेको उहाँले बताउनुभयो ।

यहाँ भारतदेखि बिरामी आउने गर्दछन् । नेपालका सबै जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । अस्पतालमा समस्या देखिएसँगै प्रत्यक्ष रूपमा बिरामी प्रभावित हुने हुँदा सरोकारवालाहरूको ध्यान यहाँ बढी जाने गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.