कृषि

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

तिहारलाई लक्षित गर्दै सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ ।

विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आउनुभएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाउनुभएको छ ।

गत वर्ष काठमाडौँबाट ल्याइएको बिरुवा अग्लो हुने र फूल कम फुल्ने समस्या देखिएकाले यसपटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरिएको उहाँले बताउनुभयो । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उहाँको भनाइ छ ।

गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेको तर वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले बताउनुभयो । थोरै फूलमात्रै जोगिए पनि बजारमा मूल्य राम्रो पाएकाले तिहारमा करिब रु दुई लाखभन्दा बढीको फूल बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।

“यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ । तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता छ”, विष्टले भन्नुभयो ।

यसपटक तिहार केही ढिला भएकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उहाँको अनुमान छ । यस वर्ष फूल प्रतिकिलो रु ४०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आउनुभएको छ । बराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दा फूल किन्न खेतमै आउने गरेका छन् ।

खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो रु २० सम्म सस्तो मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । धरान र इटहरीबाट समेत ग्राहक फूल खरिद गर्न खेतमा आउने गरेको उहाँको भनाइ छ ।

भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने विष्टको भनाइ छ । भारतमा उत्पादन भएका फूल नेपालका दमक, धरान र विराटनगरलगायतका स्थानमा रहेका शीतभण्डारमा करिब १५ दिन अगाडिदेखि नै ल्याएर भण्डारण गरी राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएकाले आयातित फूल बजारमा आउँदा स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उहाँको भनाइ छ ।

आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने विष्टको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सृजना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.