कृषि

भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान व्यावसायिक गाईपालनमा आकर्षित भएका छन् ।

परम्परागत पशुपालनको विकल्पमा उन्नत जातको गाईपालन गरेर आयआर्जन वृद्धि र स्वरोजगार बन्न थालेका हुन् । भकिम्ली ग्रामीण कृषि सहकारी संस्थामार्फत उन्नत जर्सी र होलस्टेन जातको गाई भित्र्याएर दूध उत्पादन गर्न थालिएको हो ।

संस्थाका अध्यक्ष लालबहादुर पुनले गत वर्ष गाईपालन थालेका आठ जना किसानको सफलताले यसपालि १० जना किसान थपिने क्रममा रहेका जानकारी दिनुभयो । “उपयुक्त हावापानी र आम्दानीको सम्भावना देखिएपछि गाईपालन विस्तार हुन थालेको छ”, उहाँले भन्नुभयो, “गाईपालन गर्ने किसानका लागि सहकारीले सहुलियत ब्याजदरमा ऋण लगानीको सुविधा दिएका छौँ ।”

होलस्टेन र जर्सी जातको गाईपालन सुरु गरेका हुन् । यसअघि भकिम्लीमा दूध बिक्री गर्ने उद्देश्यले गाईपालन भएको थिएन । घरायसी उपभोगका लागि स्थानीय जातका गाई पाल्ने गरेका थिए । घरायसी उपभोग र स्थानीय उपभोक्तालाई बेचेर बचेको दैनिक ४० लिटर दूध बेनी नगरपालिका–४ सिङ्गामा रहेको बास्कुना कृषि सहकारी संस्थामार्फत पोखराको सिजल डेरी उद्योगमा पठाउने गरिएको छ ।

दुईवटा उन्नत जातका गाई पालेका किसान चित्रबहादुर पुनले दैनिक २० लिटरसम्म दूध उत्पादन गर्न सकिने बताउनुभयो । “अहिले एउटाले मात्र दूध दिन्छ, अर्को ब्याउने छ”, उहाँले भन्नुभयो, “एउटा गाईको दूध बेचेर खर्च कटाउँदा गत महिना रु २७ हजार बचत भयो ।”

विदेश र छ वर्ष स्वदेशकै कृषि कम्पनीमा काम गरेको अनुभवका आधारमा गाईपालन सुरु गरेको पुनले बताउनुभयो । बेनीदेखि भकिम्ली जोड्ने सडक जीर्ण हुदाँ दूध ढुवानी र कृत्रिम गर्भाधान सेवाका लागि समस्या भएको किसानले बताएका छन् ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बेनीदेखि दूधेखोला खण्डका सडक प्रदेश सरकारमार्फत स्तरोन्नति भएको र हल्लेगौडादेखि माथिको सडक यस वर्षदेखि सङ्घीय सरकारमार्फत स्तरोन्नतिको चरणमा रहेको बताउनुभयो ।

सडक स्तरोन्नति भएपछि कृषि उपज निकासी, आवतजावत र दूवानीमा सहज हुने बताउँदै दसैँलगत्तै वडा कार्यालयमा पशु प्राविधिक आएपछि कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिने वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.