कृषि

सामूहिक प्रयासमा फूलखेती

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच रोपनी क्षेत्रफलमा सयपत्री लगाएका हुन् ।

स्थानीय किसानको सामूहिक प्रयासमा सुरु गरिएको फूलखेतीमा आठ हजार सयपत्रीका बिरुवा रोपिएको छ । तिहार नजिकिँदै गर्दा फूल फुल्ने र बजारमा बिक्री हुने अपेक्षासहित किसान खेतीको हेरचाहमा जुटेका छन् ।

फूलखेतीमा संलग्न स्थानीय मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमै सयपत्री उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने उहाँको विश्वास छ ।

उहाँले तिहारमा पूजाआजा तथा घर सजावटका लागि प्रयोग हुने फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय फूलको प्रयोग बढाउन सके किसानलाई आम्दानीको अवसर मिल्नुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम गर्न सकिने उहाँको भनाइ छ ।

फूलखेतीमा संलग्न किसान सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । तिहार नजिकिँदै गएकाले उत्पादनले बजार पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजार सम्भावना रहेकाले कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।

तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमा उत्पादन विस्तार गर्नसके किसानले आम्दानीको अवसर पाउने कृषि शाखा प्रमुख केसीको भनाइ छ । पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भएमा आगामी दिनमा फूलखेती विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.