काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ ।
आयोजना सञ्चालनमा आएको साढे दुई महिनापछि शुल्क उठाउन थालिएको हो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जनाएको छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क उठाउन लागिएको हो ।
आयोजनाका अनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनी बस तथा मिनी टिपर–ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । वर्ग ३ अर्थात् बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ ।
सात वर्ष लगाएर निर्माण, २५ अर्ब खर्च
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते चन्द्रागिरि नगरपालिका–२, टुटीपाखामा शिलान्यास गर्नुभएको थियो । त्यसको केही दिनपछि निर्माण कार्य सुरु भएको थियो ।
जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माणको जिम्मा पाएको यस आयोजनालाई सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिड–१९ महामारी, स्थानीय विवाद, प्राविधिक समस्या तथा निर्माणस्थलमा गएको पहिरोलगायत कारणले आयोजना सम्पन्न हुन करिब ८० महिना अर्थात् ६ वर्ष ८ महिना लागेको थियो ।
आयोजना निर्माणमा करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ । यसमध्ये करिब १७ अर्ब रुपैयाँ निर्माण कार्यमा, निर्माण सामग्रीको मूल्यवृद्धि तथा विदेशी मुद्रा विनिमय दरमा भएको परिवर्तनका कारण थप दुई अर्ब र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब छ अर्ब रुपैयाँ खर्च भएको हो । आयोजनामा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी रहेको छ ।
साउन ११ देखि सञ्चालनमा
निर्माण सम्पन्न भएपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्गको २०८३ साउन ११ गते औपचारिक उद्घाटन गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले जापानी राजदूत र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनसँगै सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई प्रवेश दिइएको थियो । त्यसपछि परीक्षण तथा सञ्चालन व्यवस्थापनका क्रममा अन्य सवारीसाधनलाई पनि चरणबद्ध रूपमा प्रवेश दिइएको थियो । सञ्चालनमा आएदेखि हालसम्म सवारीसाधनलाई निःशुल्क आवागमनको व्यवस्था गरिएकोमा आजदेखि भने शुल्क लाग्ने भएको हो ।
मुख्य सुरुङ २ हजार ६८८ मिटर लामो छ भने त्यससँगै समानान्तर रूपमा २ हजार ५५७ मिटर लामो आपत्कालीन उद्धार सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङमा कुनै दुर्घटना वा अन्य आपत्कालीन अवस्था आए उद्धार सुरुङ प्रयोग गर्न सकिने व्यवस्था छ ।
यात्रा सहज र समयको बचत
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीसाधनले नागढुंगाको लामो उकालो, घुमाउरो सडक र ट्राफिक जामको समस्या छल्न पाएका छन् । यसअघि नागढुंगा–नौबिसे सडकखण्डमा घण्टौँसम्म लाग्ने यात्रालाई सुरुङमार्गले छोट्याउने अपेक्षा गरिएको छ ।
विशेषगरी मालवाहक सवारीसाधन, सार्वजनिक यातायात र दैनिक आवागमन गर्ने यात्रुका लागि यो सुरुङमार्ग महत्त्वपूर्ण पूर्वाधार बनेको छ ।
यसले काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा हुने सवारी चाप कम गर्नुका साथै इन्धन खपत घटाउन, सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र ढुवानी तथा यातायातलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको सडक पूर्वाधार विकासमा नयाँ प्रविधि र सुरुङ यातायातको सुरुवातका रूपमा समेत नागढुंगा सुरुङमार्गलाई महत्त्वपूर्ण आयोजना मानिएको छ ।




प्रतिक्रिया राख्नुहोस्