जन सरोकार

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवनको भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको हो । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार महानगरले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरिएको हो ।

चितवनमा धेरैजसो रगतको अभाव हुने भएकाले रक्तदान गर्न प्रेरणा दिनेगरी विपद् भन्ने पाठ्य क्षेत्रमा रक्तदानलाई समेटिएको उहाँले जानकारी दिनुभयो । बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो शिक्षा महत्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रक्तदानको आबश्यकता, महत्व र मानवीयताका दृष्ट्रिले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समेटीएको बताउनुभयो । चिकित्सक र शिक्षाविद्को परामर्शका माध्यमबाट पाठ्यक्रममा स्थान दिइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुरमा सङ्घीय अस्पताल भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दाबढी निजी अस्पताल छन् ।

यहाँ क्यान्सर, प्रसूति र दुर्घटनाका बिरामीलाई धेरै रगत आवश्यकपर्ने गर्दछ । वर्षभरी नै रगतको अभाव हुने भएपछि रक्तदानका लागि उत्प्रेरणा गर्न स्थानीय पाठ्यक्रममा नै यसको महत्व समावेश गरिएको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत माग हुने गरेको छ । रगत अभावका कारण बिरामीले रक्तदाता खोजेर रगत सङ्कलन गर्नुपर्ने बाध्यता हुने गरेको छ । महानगरपालिकाभित्र सामुदायिक विद्यालय १११ वटा र संस्थागत विद्यालय ९७ वटा रहेका छन् ।

ती विद्यालयमध्ये निम्न माध्यमिक तह अध्ययन गराउने सामुदायिकतर्फ ७४ र संस्थागततर्फ ८० वटा विद्यालय रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयका निम्न माध्यमिक तहमा अध्ययन गर्ने २५ हजारभन्दा बढी विद्यार्थी छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.