संसद्मा धक्का बेहोरेपछि ट्रम्पको नरम बोली, भिटोको चेतावनी कायमै
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको परिणाम स्वीकार गर्न आफू पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।
रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेपछि उहाँले निर्वाचन परिणाम स्वीकार गर्दै डेमोक्र्याटिक पार्टीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको हो ।
‘द न्युयोर्क टाइम्स’का दुई पत्रकारसँग मंगलबार भएको अन्तर्वार्तामा ट्रम्पले आफू निर्वाचन परिणाम स्वीकार गर्न तयार रहेको स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, “म ती परिणाम स्वीकार गर्न पूर्ण रूपमा तयार छु। हामी डेमोक्र्याट्ससँग काम गर्नेछौँ र उनीहरूसँग मिलेर अघि बढ्नेछौँ। सम्भवतः हामी कुनै सहमति निकाल्नेछौँ।”
नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो धक्का बेहोरेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत हासिल गरिसकेको छ भने प्रतिनिधिसभामा पनि बहुमत प्राप्त गर्ने नजिक पुगेको छ। प्रतिनिधिसभाको अन्तिम परिणाम भने अझै स्पष्ट भइसकेको छैन।
सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण स्थापित हुनु ट्रम्प प्रशासनका लागि ठूलो राजनीतिक चुनौती मानिएको छ। यसले उहाँको बाँकी कार्यकालको विधायिकी एजेन्डा अघि बढाउन कठिन बनाउन सक्छ।
प्रतिनिधिसभामा पनि डेमोक्र्याट्सले बहुमत हासिल गरेमा सरकारका निर्णयमाथि निगरानी, छानबिन र विधायिकी अवरोध गर्ने उनीहरूको क्षमता थप बढ्नेछ।
ट्रम्पले रिपब्लिकन पार्टीको पराजयमा आफू निर्वाचनको मतपत्रमा उम्मेदवारका रूपमा नरहनु पनि एउटा कारण भएको बताउनुभएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरानसँगको युद्धले पनि रिपब्लिकन उम्मेदवारहरूको पराजयमा भूमिका खेलेको स्वीकार गर्नुभएको छ ।
ट्रम्पले इरान युद्धले रिपब्लिकन उम्मेदवारहरूलाई असर गरेको बताए पनि मतदाताले इरानसम्बन्धी आफ्नो कदमको महत्त्व बुझेको दाबी गर्दै भन्नुभयो, “मलाई लाग्छ, यसको एउटा कारण इरान पनि थियो। तर, इरानका सम्बन्धमा मैले गरेका कामको महत्त्व मानिसहरूले बुझेका छन् ।”
यसअघि निर्वाचन परिणाम आउनुअघि नै ट्रम्पले डेमोक्र्याट्सले संसद्मा बहुमत प्राप्त गरे उनीहरूले ल्याउने आफूलाई अस्वीकार्य लागेका विधेयक रोक्न राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिनुभएको थियो ।
सीबीएस न्युजसँग निर्वाचनको मतदान सकिनुअघि भएको टेलिफोन अन्तर्वार्तामा उहाँले आफूलाई ‘मिस्टर भिटो’ अर्थात् ‘भिटो लगाउने राष्ट्रपति’ भनिए पनि आपत्ति नहुने बताउनुभएको थियो ।
उहाँले भन्नुभएको थियो, “मसँग सबैभन्दा ठूलो अधिकार छ—त्यसलाई भिटो भनिन्छ ।” डेमोक्र्याट्सले संसद्मा बहुमत पाएमा उनीहरूले ल्याउने विधेयक आवश्यक परे अस्वीकार गर्ने उहाँको भनाइ थियो।
फक्स न्युजसँगको पछिल्लो कुराकानीमा पनि ट्रम्पले डेमोक्र्याट्सले आफूलाई अस्वीकार्य विधेयक ल्याए भिटो प्रयोग गर्ने बताउँदै केही महिनासम्म भिटो प्रयोग गरेपछि दुवै पक्षबीच सहकार्यको बाटो खुल्ने उहाँको दाबी छ।
इरान युद्ध र महँगीले रिपब्लिकनलाई धक्का
यसपटकको मध्यावधि निर्वाचनमा मतदाताको असन्तुष्टिका प्रमुख कारणमा बढ्दो महँगी, इरानसँगको युद्ध र सरकारी भ्रष्टाचारसम्बन्धी चिन्ता देखिएका छन्।
एपीको मतदाता सर्वेक्षणअनुसार धेरै मतदाताले ट्रम्प प्रशासनको नीतिका कारण दैनिक जीवनयापनको लागत बढेको भन्दै असन्तुष्टि जनाएका थिए। उनीहरूले राष्ट्रपतिको कार्यकारी शक्तिमाथि संसद्ले थप निगरानी गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
निर्वाचनमा रिपब्लिकन पार्टीले दक्षिण क्यारोलाइना, टेक्सास, कन्सास, नर्थ क्यारोलाइना र ओहायो लगायतका राज्यमा महत्त्वपूर्ण सिनेट सिट गुमाएको छ। टेक्सासमा दशकौँपछि डेमोक्र्याटिक उम्मेदवारले सिनेट सिट जित्नु र रिपब्लिकन गभर्नर ग्रेग एबट पराजित हुनु पनि यस निर्वाचनका उल्लेखनीय परिणाम हुन्।
रिपब्लिकन पार्टीभित्रै पनि पराजयको जिम्मेवारी ट्रम्पमाथि थोपर्ने आवाज उठेको छ। पार्टीका केही चुनावी रणनीतिकारले मतदाताको असन्तुष्टि ट्रम्प प्रशासनका नीतिसँग जोडिएको बताएका छन्। विशेषगरी जीवनयापनको बढ्दो लागत र इरान युद्धले इन्धनको मूल्यमा पारेको प्रभाव मतदाताको असन्तुष्टिको विषय बनेको उनीहरूको विश्लेषण छ।
संसद्मा डेमोक्र्याट्सको नियन्त्रणले ट्रम्पलाई चुनौती
अमेरिकी मध्यावधि निर्वाचन राष्ट्रपतीय निर्वाचनको बीचमा हुने भएकाले यसलाई राष्ट्रपतिको कार्यकालको जनमत परीक्षणका रूपमा पनि हेरिन्छ। यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको थियो।
डेमोक्र्याट्सले सिनेटमा नियन्त्रण कायम गरेसँगै ट्रम्प प्रशासनका नियुक्ति, विधेयक र नीतिगत निर्णयमाथि थप राजनीतिक निगरानी हुने सम्भावना छ। प्रतिनिधिसभामा पनि बहुमत प्राप्त गरेमा प्रशासनका गतिविधिबारे छानबिन अघि बढाउन र राष्ट्रपतिको विधायिकी योजनामा अवरोध गर्न उनीहरूलाई थप अवसर मिल्नेछ।
यद्यपि, संसद्मा डेमोक्र्याट्सको बहुमत स्थापित हुँदैमा ट्रम्पको कार्यकारी अधिकार समाप्त हुने छैन। राष्ट्रपतिसँग संसद्बाट पारित विधेयकमा भिटो लगाउने संवैधानिक अधिकार कायम रहनेछ। त्यसलाई उल्ट्याउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्छ।
त्यसैले आगामी दुई वर्ष अमेरिकी राजनीति राष्ट्रपति र संसद्बीचको शक्ति सन्तुलन, विधायिकी गतिरोध र सम्भावित सहकार्यको परीक्षण बन्ने देखिएको छ। निर्वाचन परिणाम स्वीकार गर्ने र डेमोक्र्याट्ससँग मिलेर काम गर्ने ट्रम्पको पछिल्लो अभिव्यक्तिले सहकार्यको संकेत गरे पनि ‘मिस्टर भिटो’ बन्ने उनको चेतावनीले आगामी राजनीतिक सम्बन्ध सहज नहुन सक्ने संकेत गरेको छ।




प्रतिक्रिया राख्नुहोस्