सार्वजनिक पदमा रहेकाहरूले व्यक्तिगत सुविधाभन्दा जनसेवालाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधा र स्वार्थभन्दा जनताको सेवा तथा सुविधालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
उहाँले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासनलाई सुशासनका आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
बुधबार दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक जिम्मेवारीलाई अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो।
जनताको अपेक्षा र आवश्यकता पूरा गर्न तीनै तहका सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो। सार्वजनिक पदमा रहेकाहरूको कार्यसम्पादन जनताको जीवनमा आएको सहजता र सेवाको प्रभावकारिताबाट मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनुभयो।
राष्ट्रपति पौडेलले प्रशासकीय भवन आधुनिक र सुविधासम्पन्न हुँदैमा मात्र सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै प्रशासनिक कार्यशैली पनि प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताउनुभयो।
सूचना प्रविधिको प्रयोग विस्तार, डिजिटल सेवाको विकास, अभिलेख व्यवस्थापन र नागरिकका गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउन उहाँले जोड दिनुभयो।
उहाँले प्रशासकीय भवनलाई नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वासको केन्द्र तथा लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारका रूपमा व्याख्या गर्नुभयो। नवनिर्मित भवनबाट प्रदान गरिने सेवा छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने उहाँको भनाइ थियो।
यसैगरी, राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनका अतिरिक्त प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो।

त्यसका लागि स्थानीय सम्पदा, प्राकृतिक सौन्दर्य र उत्पादनको पहिचान गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाउन उहाँले आग्रह गर्नुभयो।
प्रशासकीय भवन उद्घाटनका क्रममा दक्षिणकाली पुग्नुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरको दर्शन तथा पूजाअर्चना पनि गर्नुभयो। उहाँले मन्दिरमा पूजाअर्चना गरेपछि पुजारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो।




प्रतिक्रिया राख्नुहोस्