चाडपर्वमा पनि कानुन संशोधन प्राथमिकतामा : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोवित गौतमले द्रुत गतिमा ५९ वटा कानुन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गौतमले चाडपर्वको समयमा पनि कानुन संशोधन द्रुत गतिमा अघि बढाइने बताउनुभयो ।
“हामीले एकैपटक ५९ वटा ऐनका कानुन संशोधन गर्ने गरी आवश्यक काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन मन्त्रालयमा लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ वटा ऐनका ४९४ वटा कानुन संशोधन र परिमार्जनका लागि आवश्यक मस्यौदा उपलब्ध गराएको छ । हामीले सो ऐनका प्रावधानलाई ‘पोलिस’ गर्ने काम गरिरहेका छौँ । जतिसक्दो छिटो सो कानुन ल्याउने गरी आवश्यक गृहकार्य भइरहेको छ ।”
मन्त्री गौतमले चाडपर्वको समय भए पनि व्यवस्थापन गरेर नीतिगत र कानुनी सुधारलाई उच्च प्रथामिकतामा दिएर काम भइरहेको बताउनुभयो । उहाँले कानुन संशोधनका लागि कर्मचारीतन्त्रबाट पनि आवश्यक सहयोग पाइरहेको उल्लेख गर्नुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्