राजनीति

सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ : बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

नारायणमान बिजुक्छेँ

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा बिहीबार विशेष नवजात शिशुु स्याहार कक्ष (एसएनसियू) सेवाको उद्घाटन गर्दै उहाँले सेवाग्राहीको चेतनास्तर फरकफरक हुने भएकाले चिकित्सक तथा कर्मचारीले सबैसँग समान र सहज व्यवहार गर्नुपर्ने बताउनुभयो ।

कुनै पनि संस्था सञ्चालनमा चिकित्सक तथा कर्मचारीको व्यवहार र भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो । अध्यक्ष बिजुक्छेँले गरिब तथा विपन्न नागरिक उपचारका लागि आउने अस्पतालमा सेवाग्राहीको भीड हुनु स्वाभाविक भएको बताउनुभयो । अस्पतालमा उपलब्ध सेवा सबैले समान रूपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सके अस्पतालको सकारात्मक प्रचार हुने उहाँको भनाइ छ । ख्वप अस्पतालले भक्तपुरका नागरिकलाई मात्र नभई देशभरिका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नयाँनयाँ सेवा सञ्चालन गरी जनतालाई स्वास्थ्य सेवा दिने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल भक्तपुरको महत्वपूर्ण संस्था भएको बताउँदै यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीको मनमा जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुभयो । आफ्नै ठाउँको विकास आफैँले गर्नुपर्छ भन्ने भावनाको उदाहरण ख्वप अस्पताल पनि भएको उहाँको भनाइ छ ।

तीन जनाबाट सुरु भएको जनस्वास्थ्य केन्द्र २०७८ सालदेखि ख्वप अस्पतालका रूपमा विकास हुँदै १०० शय्याको अस्पताल बन्न सफल भएको उल्लेख गर्दै उहाँले अस्पतालको विकासका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

लामो समयदेखिको प्रयासपछि एसएनसियू सेवा सञ्चालन गर्न सफल भएको बताउँदै उहाँले आगामी दिनमा एमआरआई सेवा सञ्चालन गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिनुभयो ।

मेडिकल कलेज सञ्चालनका लागि ३०० शय्याको अस्पताल आवश्यक पर्ने भएकाले त्यसतर्फ पनि तयारी गर्दै जानुपर्ने उहाँले बताउनुभयो । ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा महेशप्रताप मल्लले एसएनसियू सेवा सञ्चालनले नवजात शिशुको उपचारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

अस्पतालले एकपछि अर्को सेवा थप्दै जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.