रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिनुभएको छ ।
रास्वपा चितवनले शुक्रबार चितवनमा आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा उहाँले पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधिलाई समाजले मूल्याङ्कन गर्ने उल्लेख गर्दै उहाँले आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको बताउनुभयो । समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।
“ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन”, उहाँले भन्नुभयो । जनताले पार्टीलाई १८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई अहङ्कारको विषय बनाउन नहुने बताउनुभयो । पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्न निर्देशन दिँदै उहाँले बदला लिने भावनाले काम नगर्न पनि आग्रह गर्नुभयो ।
“हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन”, उहाँले भन्नुभयो, “हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन ।”
जनताले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न चेतावनी दिँदै उहाँले पार्टी ठूलो भएको भन्दै प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत राज्यका निकाय आफूहरूको नियन्त्रणमा रहेको ठान्ने अहङ्कार त्याग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एकता कायम राख्न पनि आग्रह गर्नुभयो ।
“हामी यही माटोका मान्छे हौँ । एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ”, उहाँले भन्नुभयो । पार्टीभित्र मतभेद र अन्तरसङ्घर्ष नरहेको दाबी गर्दै सभापति लामिछानेले सरकारले जनअपेक्षाअनुसार काम गरोस् भन्ने उद्देश्यले पार्टीले सुझाव दिने गरेको बताउनुभयो ।
सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उहाँको भनाइ थियो । पार्टीले सरकारको काममा बाधा अवरोध नगर्ने स्पष्ट पार्दै उहाँले लोकतन्त्रका स्तम्भ कमजोर पार्ने गतिविधिमा सरकार संलग्न नहुने बताउनुभयो ।
सभापति लामिछानेले अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो । सार्वजनिक संस्थालाई कमजोर बनाउँदा देश र लोकतन्त्र दुवै कमजोर हुने उहाँको भनाइ थियो ।
“अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन”, उहाँले भन्नुभयो । सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचार नियन्त्रणको विषय विगतमा रास्वपाले नै जोडदार रूपमा उठाएको स्मरण गराउँदै उहाँले अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने र पक्राउ गर्ने प्रवृत्ति उचित नहुने बताउनुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्