मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिनुभएको छ। शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
एमालेले गत असोज ३० गते आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको थियो भने नेकपाका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए।
संविधानअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता भएपछि मुख्यमन्त्री यादवले शनिबार प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको थियो। तर, आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मतदानअघि नै उहाँले राजीनामा दिनुभयो।
हाल कायम १०२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
मुख्यमन्त्रीको राजीनामासँगै मधेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच कसरत सुरु हुने भएको छ। एमालेले जसपा नेपाल, एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको दाबी गर्दै आएको छ।
एमाले र नेकपा जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिए पनि जसपाभित्रै मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा विवाद छ।
जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने तयारीमा रहेको बताइए पनि पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि आन्तरिक दबाब छ। उता, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नयाँ सरकारमा सहभागी नहुने घोषणा गरिसक्नुभएको छ।
अब प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुहुनेछ । तर, दलहरूबीच सहमति जुट्न नसकेमा मधेशमा अर्को सरकार गठन प्रक्रिया पनि जटिल बन्न सक्ने देखिएको छ।




प्रतिक्रिया राख्नुहोस्