कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद
जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका उजागर गर्ने उद्देश्यले क्रिएसन नेपालको आयोजनामा कोप–३१ अन्तर्गत विशेष सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको राष्ट्रिय पेभिलियनमा भएको उक्त संवाद कार्यक्रममा क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले छलफलको सहजीकरण गर्दै दिगो फोहोर व्यवस्थापनका लागि सबै पक्षको सक्रिय, समावेशी र एकीकृत सहभागिता आवश्यक रहेको बताउनुभएको थियो ।
छलफलमा अफ्रिका सर्कुलरका बिएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाक, दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप)का महानिर्देशक नोर्बु वाङ्चुक, चिलीको राष्ट्रिय फोहोर सङ्कलक सङ्घकी अध्यक्ष तथा रेडलाक्रेको अन्तरराष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्ला र इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उरालको सहभागिता थियो ।
छलफलमा बिएसएफ प्रणाली तथा फोहोर व्यवस्थापनका व्यावहारिक समाधान र विश्वव्यापी अनुभवमार्फत चक्रीय अर्थतन्त्रतर्फको सङ्क्रमणलाई तीव्र बनाउने उपायबारे पिओत्र बार्चाकले आफना विचार प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, नोर्बु वाङ्चुकले दक्षिण एसियाली क्षेत्रीय दृष्टिकोण प्रस्तुत गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको प्रवद्र्धनका लागि क्षेत्रीय सहकार्य तथा साझेदारीको आवश्यकतामाथि जोड दिनुभएको थियो ।
सोलेदाद मेल्लाले फोहोर सङ्कलक तथा व्यवस्थापनमा संलग्न श्रमिकहरूको भूमिका, उनीहरूको योगदानको पहिचान र समावेशी फोहोर व्यवस्थापन प्रणालीको महत्वलाई उजागर गर्नुभएको थियो ।
त्यसैगरी, भोल्कान उरालले उद्योग क्षेत्रको दृष्टिकोणबाट चक्रीय समाधान, स्रोतको पुनःप्राप्ति तथा दिगो फोहोर व्यवस्थापनका सम्भावना र व्यावहारिक उपायबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा शून्य फोहोरको भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता, समावेशी सहभागिता र चक्रीय अर्थतन्त्रको प्रवद्र्धनमा थप प्रभावकारी कदम चाल्नुपर्ने विषयमा जोड दिइएको थियो ।
फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, स्रोत संरक्षण र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत छलफलले दिएको छ ।
क्रिएसन नेपालले शून्य फोहोरतर्फको परिवर्तनलाई गति दिन सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा आम नागरिक सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस अभियानको महत्वपूर्ण हिस्सा नागरिक स्वयं भएको सन्देश दिएको छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्