राजनीति

नेपाल पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको, पत्रकारमाथि धरपकड गरिएको र श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पत्रकारका पेसागत तथा आर्थिक समस्या समाधान र सञ्चारमाध्यमको स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप रोक्न महासंघले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ।

महासंघले मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने र मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने निर्णय गरेको छ।

त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसपछि मंसिर ९ गते महासंघका जिल्ला शाखाको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गरिनेछ। उक्त प्रदर्शनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित सहभागी हुने महासंघले जनाएको छ। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभएको छ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्दा पनि संलग्नमाथि कारबाही नभएको तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको विषयलाई आन्दोलनको मुख्य कारण बनाएको छ।

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रमजीवी पत्रकारका पेसागत तथा आर्थिक अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको आरोप छ।

महासंघले कार्यक्रम घोषणा गर्नुअघि काठमाडौं शाखासहित विभिन्न पत्रकारसम्बद्ध संघसंस्थाले पत्रकारका पेसागत तथा आर्थिक समस्या र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध एकताबद्ध आन्दोलन गर्न माग गरेका थिए ।

महासंघ केन्द्रीय समिति, काठमाडौं शाखा, शाखाद्वारा गठित सुझाव कार्यदल तथा नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरका प्रतिनिधिबीच भएको छलफलमा पत्रकारका समस्या समाधानका लागि प्रभावकारी र परिणाममुखी आन्दोलन आवश्यक रहेको निष्कर्ष निकालिएको हो।

छलफलमा लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले पाउँदै आएको रकम कटौती, सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारका पेसागत तथा आर्थिक समस्या, सञ्चारमाध्यममाथि भइरहेको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलगायत विषयमा छलफल भएको थियो।

सहभागीहरूले यी समस्या समाधानका लागि केन्द्रीय समितिले ढिलाइ नगरी प्रभावकारी आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

पत्रकारका हकहित, श्रम अधिकार, सञ्चारमाध्यमको संरक्षण र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पत्रकारसम्बद्ध संघसंस्था एकजुट भएर अघि बढ्नुपर्ने उनीहरूको निष्कर्ष छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.