जन सरोकार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा जोड

नेपाल, भारत र भुटानमा मानव–वन्यजन्तु द्वन्द्व साझा चुनौतीका रूपमा बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, ज्ञान आदानप्रदान र स्थानीय आवश्यकतामा आधारित समाधानमा जोड दिइएको छ ।

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा आयोजित तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा तीन देशबीच सहकार्यमा जोड दिइएको हो ।

तीन देशमा वन्यजन्तु र मानिसबीचको बढ्दो द्वन्द, वन्यजन्तुको बासस्थान खण्डीकरण तथा बासस्थानमाथिको बढ्दो दबाबजस्ता समस्या समान रहे पनि द्वन्द्वको प्रकृति र गम्भीरता भने भौगोलिक क्षेत्र तथा देशअनुसार फरक रहेको संरक्षणकर्मीहरूले बताएका हुन् ।

नेपाल, भारत र भुटान हेर्ने विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का क्षेत्रीय प्रमुखले मानव–वन्यजन्तु द्वन्द्व राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती भएकाले यसको समाधानका लागि क्षेत्रीयस्तरमा सामूहिक पहल आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले भविष्यमा विकास गरिने मानव–वन्यजन्तु सहअस्तित्वका नवीन उपायमा आदिवासी तथा स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदायको सहभागिता, आवश्यकता र अनुभवलाई संरक्षणका उपायमा समेट्नु आवश्यक रहेको बताउनुभयो ।

“तीन देशका पारिस्थितिक, सामाजिक–आर्थिक तथा संस्थागत अवस्था फरक रहेकाले द्वन्द्व न्यूनीकरणका उपाय पनि स्थानीय वास्तविकता र समुदायको आवश्यकताअनुसार तयार गर्नुपर्छ,” राष्ट्रिय प्रतिनिधि गुरुङले भन्नुभयो, “क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र साझा सिकाइ महत्त्वपूर्ण भए पनि स्थानीय परिवेशअनुकूलका समाधान आवश्यक रहेको छ ।”

उहाँले मानिस र ठूला माँसाहारी वन्यजन्तुबीचको भेटघाट तथा द्वन्द्व कम गर्न गन्धमा आधारित अवरोधक प्रणालीको परीक्षण गरिरहेको जानकारी गराउनुभयो । विज्ञानमा आधारित उक्त नवीन प्रविधिले परम्परागत द्वन्द्व न्यूनीकरणका उपायलाई थप प्रभावकारी बनाउन सक्ने भन्दै सहभागीले चासो व्यक्त गरेका थिए ।

बैठकमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा संरक्षणका लागि दिगो वित्तीय स्रोत जुटाउन भइरहेका नवीन प्रयासबारे पनि छलफल भएको थियो ।

त्यस्तै, भुटानले बाघ संरक्षण तथा व्यवस्थापनका लागि दिगो वित्त जुटाउने उद्देश्यले परीक्षण गरिरहेको ‘टाइगर इम्प्याक्ट सर्टिफिकेट’ पहललाई पनि सम्भावनायुक्त उपायका रूपमा प्रशंसा गरिएको थियो ।

त्यस्ता पहलले संरक्षणका उदीयमान चुनौती सम्बोधन गर्न नवीन प्रविधि, देशहरूबीच अनुभव आदानप्रदान तथा नयाँ वित्तीय स्रोतको खोजी आवश्यक रहेको सहभागीको भनाइ छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.