चितवन राइनोज राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर-२ मा प्रवेश गरेको छ । बुधबार भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन क्वालिफायर-२ मा प्रवेश गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो । चितवनको लागि मिशराले ५९ बलमा ५ चौका र १० छक्का प्रहर गर्दै १२० रनको अविजित शतकीय पारी खेले भने रवि बोपराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेले ।
मिशारा र बोपाराले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । जारी सिजनमा यो दोस्रो शतक हो ।यसअघि पोखरा एभेन्जर्सका युजराज शमराले एनपिएल-३ मा पहिलो शतक प्रहार गरेका थिए । काठमाण्डुको लागि करण केसी र राशिद खानले समान दुई-दुई विकेट लिए ।
यस्तै मिशारा एनपिएल इतिहासमै व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । यसअघि दोस्रो सिजनमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित रहँदै ११४ रनको शतकीय पारी खेलेका थिए ।चितवनले प्रस्तुत गरेको २०५ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमात्र बनायो । काठमाण्डुको लागि विलियम बोसिस्टोले ३७ रन बनाए भिम सार्कीले अविजित ३० रन बनाए ।
यस्तै सहान अराच्चिगेले २४, राशिद खानले १२ र सन्तोष यादवले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक रन जोड्न सकेनन् । चितवनको लागि रिजन दहकल्ले चार विकेट लिए भने उसामामिर्ले तीन विकेट लिँदा कुशल मल्ल र सलाहुद्दीन खानको भागमा समान एक-एक विकेट रह्यो ।
अब चितवनले फाइनल प्रवेशको लागि क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो । बुधबारको खेलमा पराजित भएको काठमाण्डु भने प्रतियोगिताबाट बाहिरिएको छ ।
लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाण्डुले चितवनलाई १० रनले पराजित गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्