जन सरोकारबिशेष

मलेसिया कामदार ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित छजना पक्राउ

वैदेशिक रोजगारीका लागि नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम असुली गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर (६०) र रामेश्वर राय यादव (६१) छन् । यसै गरी, सोही मन्त्रालयका पूर्वसचिव विनोद केसी (६४) पनि पक्राउ पर्नुभएको छ ।

त्यस्तै, मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखामा प्रमुखका रूपमा कार्यरत रहिसकेका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना (५१) र राजीव पोखरेल (५३) तथा सोही महाशाखामा कानुन अधिकृतका रूपमा कार्यरत तत्कालीन उपसचिव निर्मला गुरुङ (४९) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) को पत्र र विकास रानाभाटलगायतले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाश खड्कालगायत प्रतिवादीविरुद्ध नेपाल सरकारका तर्फबाट संगठित अपराध निवारण ऐन, २०७० (सन् २०१४) तथा ठगीसम्बन्धी कानुनअनुसार मुद्दा अघि बढाइएको छ ।

अनुसन्धानका क्रममा नेपाल र मलेसियाबीच भएको सम्झौताको सीमाभन्दा बाहिर गएर तथा स्थापित कानुनी प्रक्रियासमेत मिचेर निर्णय गरिएको पाइएको छ । ती निर्णय बदनियतपूर्ण रहेको र त्यसबाट विदेशी मुद्रा अपचलन भई मुलुकको विदेशी मुद्रा सञ्चितिमा ठूलो क्षति पुगेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

अनुसन्धानका क्रममा मलेसिया जाने नेपाली श्रमिकबाट अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल एक अर्ब ६९ करोड रुपैयाँ अवैध रूपमा असुली गरिएको खुलेको छ ।

सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । घटनाबारे विस्तृत अनुसन्धानसमेत सुरु गरिएको ब्युरोले जनाएको छ ।

संगठित रूपमा ठगी तथा विदेशी मुद्रा अपचलनसँग सम्बन्धित यस घटनामा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.