काभ्रेमा विदेशी नागरिकको शङ्कास्पद गतिविधि, निगरानी बढाइँदै
काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शङ्कास्पद गतिविधि गरेको पाइएपछि स्थानीय प्रशासनसहित सुरक्षा निकायले निगरानी बढाएका छन् ।
शङ्कास्पद गतिविधि गरेको आरोपमा बितेका दुई दिनमा विभिन्न स्थानबाट ७६ जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ । ‘निगरानी’लाई विशेष प्राथमिकता दिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लास्थित सुरक्षा निकायलाई चनाखो रही विशेष रुपमा जिल्लाका सबै स्थानका होटल–रिसोर्टमा अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार विशेषगरी प्र्यटकीय क्षेत्रका होटल–रिसोर्टलाई ‘अनुगमन’मा प्राथमिकता दिइनेछ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले मङ्गलबार र बुधबार काभे्रपलाञ्चोकको पाँचखाल र पनौतीको बल्थलीका होटलमा बसी शङ्कास्पद गतिविधि गरेको आरोपमा उक्त सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरिएको छ ।
मङ्गलबार जिल्लाको पाँचखाल नगरपालिका–७ स्थित ह्वाईट पार्क रिसोर्टबाट पाँच महिलासहित ३६ चिनियाँ नागरिक र बुधबार पनौती नपा–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ गरी ४० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चिनियाँ तथा जापानी नागरिकको साथबाट ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल, ट्याबलगायतका डिजिटल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
पाँचखाल–७ शिखरपुरबाट मङ्गलबार नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएका ४९ कम्प्युटर ९ल्यापटप० र १५५ थान मोबाइलको जिल्ला प्रहरी कार्यालय हुँदै थप प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ गरिएका चिनियाँ नागरिकलाई बुधबार अध्यागमन विभागमा बुझाइएको छ ।
थाङ्का बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको हो ।
यस्तै बुधबार बिहान बल्थलीस्थित बल्थली माउण्टेन रिसोर्टमा प्रहरीले छापा मार्ने क्रममा रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको तथा ‘टिकटक’का करिब ३०÷३५ बुथ, टेलिफोन, प्रहरी स्टेसन, अन्र्तवार्ता कक्षलगायतको अस्थायी संरचना निर्माण गरिएको पाइएको प्रहरीले जनाएको छ ।
बुधबार नियन्त्रणमा लिइएका ४० जापानी र चिनियाँ नागरिकलाई हिरासतमा राखिएको तथा उनीहरुका डिजिटल उपकरणबारे प्राविधिकद्वारा अनुसन्धान भइरहेको विष्टले बताउनुभयो ।
पछिल्ला केही महिनादेखि चिनियाँलगायत विदेशी नागरिकको बसोबास रहेको र उनीहरु बसेको होटल तथा रिसोर्टमा अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएपछि विदेशीले अवैध गतिविधि गरेको गुनासा आएपछि प्रशासन र प्रहरीले मङ्गलबार र बुधबार पाँचखाल र पनौतीको होटल तथा रिसोर्टमा छापा मारेको हो । क्रमशः अन्य स्थानका होटल–रिसोर्टमा निरीक्षण÷अनुगमनलाई निरन्तरता दिइने प्रजिअ अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’ द्वारा थप सूचना लिइने क्रम जारी छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्