रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लाग्न दिनुभन्दा लाग्नै नदिने स्वास्थ्य वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई आज सम्बोधन गर्दै उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो हुने बताउनुभएको हो ।
मन्त्री मेहताले स्वास्थ्य प्रवद्र्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित राख्नुहुँदैन । मानिसको स्वास्थ्य उसको सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्छ ।”
उहाँले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण तथा जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताउनुभयो ।
यसका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
सङ्घीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
सम्मेलनले सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच तथा जवाफदेहितालगायत विषयमा छलफल गरेको छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्