अर्थ

जनकपुरधाम-अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने भएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ ।

नेपाल र भारतका दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार तथा स्थानीय अर्थतन्त्रको विकासमा नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ ।

नेपालका प्रधानमन्त्री वलेन्द्र शाहको भारत भ्रमणका क्रममा यही मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणामा जनाइएको छ ।

भारतको प्रेस इन्फर्मेसन ब्युरो (पिआईबी), दिल्लीले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रूपमा नयाँ रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले विहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । उहाँले रेल सेवा सातामा एकपटक सञ्चालन हुने बताउनुभयो ।

कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार निर्धारित समयतालिका अनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ ।

रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ ।

उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ ।

निमन्त्रणाअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भिडियो कन्फरेन्समार्फत सहभागिता जनाउने कार्यक्रम रहेको कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताउनुभयो ।

रामनगरीका रूपमा परिचित अयोध्यालाई माता सीतासँग सम्बन्धित जनकपुरधामसँग जोड्दा रामायण सर्किटको प्रवर्द्धनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उक्त रेल सेवाबाट दुवै देशका तीर्थयात्री, पर्यटक तथा व्यवसायी लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले धार्मिक पर्यटनसँगै व्यावसायिक गतिविधि विस्तार हुने अपेक्षा गर्नुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँका अनुसार जनकपुरधामका होटल, रेस्टुराँ, यातायात, हस्तकला, धार्मिक सामग्रीको व्यापार, रोजगाररीका अवसर सिर्जना तथा पर्यटन व्यवसायमा नयाँ अवसर सिर्जना हुनेछन् ।

अयोध्यामा राममन्दिर निर्माणपछि धार्मिक पर्यटकको आकर्षण बढिरहेको सन्दर्भमा जनकपुरधामलाई रेलमार्गबाट जोड्नसके भारतीय तीर्थयात्रीका लागि नेपाल भ्रमणको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो ।

“जनकपुरधाम आउने नेपाली तथा भारतीय भक्तजनले अयोध्यासम्मको धार्मिक यात्रा सहज रूपमा गर्न पाउनेछन् । यसबाट जनकपुरधाममा पर्यटकको बसाइँ अवधि लम्बाउन र आर्थि गतिविधि थप चलायमान बनाउन सकिन्छ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

उहाँले त्यसका लागि जानकी मन्दिरबाहेक रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा सांस्कृतिक स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

स्तरीय होटल, यातायात सेवा र पर्यटकमैत्री पूर्वाधार विकास गर्नसके रेल सेवाबाट प्राप्त हुने अवसरलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उहाँको भनाइ छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका युवा व्यवसायी जीवछ महाशेठले रेल सेवा सञ्चालन भएपछि अयोध्यास्थित राममन्दिरलगायत धार्मिकस्थलको भ्रमण गर्न सहज हुने बताउनुभयो ।

“यहाँका अधिकांश मानिसले अयोध्या भ्रमण गर्ने अवसर पाउनेछन् । अहिलेसम्म धेरैले अयोध्याको नाम सुने पनि त्यहाँ पुग्न सकेका छैनन् । सिधा रेल सेवा सुरु भएपछि आवतजावत सहज हुनेछ”, उहाँले भन्नुभयो ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले अयोध्या जाने सिधा रेल सेवा सञ्चालन हुने जानकारीले आफूहरू उत्साहित भएको बताउनुभयो । यसअघि अयोध्या पुग्न विभिन्न यातायातका साधन प्रयोग गर्नुपर्ने र लामो समय खर्चिनुपर्ने अवस्था रहेकामा रेल सेवा सञ्चालनपछि यात्रा सहज हुने उहाँको भनाइ छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ धनुषाका अध्यक्ष रूपेश सिंहले जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुने विशेष रेल सेवाले दुवै देशका पर्यटकको आवागमन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी भारतका विभिन्न प्रान्तबाट अयोध्या आउने पर्यटकलाई जनकपुरधाम भ्रमण गर्न सहज हुने उहाँले बताउनुभयो ।

जनकपुरधाम र अयोध्याबीच प्राचीनकालदेखि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । त्रेतायुगमा भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्दा धार्मिक आस्थासँगै सांस्कृतिक आदानप्रदानमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

रेल सेवा सञ्चालनले मिथिलाको कला, संस्कृति, परम्परा, खानपान तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

धार्मिक यात्राका लागि आउने पर्यटकलाई जानकी मन्दिर र राममन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक जीवन, ऐतिहासिक स्थल तथा स्थानीय उत्पादनसँग परिचित गराउनसके स्थानीय व्यवसायले थप लाभ लिन सक्ने पर्यटन व्यवसायीको धारणा छ ।

जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी तथा जानकी नवमीलगायत धार्मिक उत्सवलाई अन्तरराष्ट्रिय पर्यटनसँग जोड्नसमेत रेल सेवाले महत्वपूर्ण भूमिका खेल्नसक्ने अपेक्षा गरिएको जनकपुरधाम उद्योग बाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले बताउनुभयो ।

उहाँले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक सहकार्यसँग जोड्ने यो पहलले मधेस प्रदेशको पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना र व्यापार व्यवसाय विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.